तनहुँ, १७ चैत–राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने बताएका छन् ।
तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिकस्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।
‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ । तर, हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौं, उनले भने, ‘विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित छ । हाम्रो देश पृथ्वीमै स्वर्ग छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।’
उनले गठबन्धन जो जता भए पनि विकासमा एक हुनुपर्छ भनेर राजनीतिक दलका नेताहरुलाई आफूले भन्ने गरेको स्मरण गरे ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने विश्वास व्यक्त गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो । त्यसको लागत करिब १५ करोड रुपैयाँ रहेको बताइएको छ ।
