प्रेम गिरी र शिव ढुङगेल

दमक, १८ चैत–नेकपा (एमाले) झापाको अधिवेशन तीन दिनदेखि जारी छ। उद्घाटन सत्र सकेर बन्द सत्र सुरू भए पनि नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन।

अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न भनेका छन्। ओलीले आफ्नो गृहजिल्ला भएर पनि झापामा पार्टीको नेतृत्व चयनमा हस्तक्षेप गरेको आरोप लागेको छ। आफूले रोजेका व्यक्तिलाई विभिन्न पदमा राख्नकै लागि बन्द सत्र रोकिएको आरोप लागेको हो।

जिल्लामा कुनै पनि पदमा चुनाव नगर्न निर्देशन दिएर पदाधिकारीको नामसमेत घोषणा गरी अध्यक्ष ओली काठमाडौं फर्किएका थिए।

ओलीको आदेशलाई जिल्लामा केही नेता कार्यकर्ताले भने चुनौती दिए। उनीहरूले अध्यक्षको ुहुकुमुविरूद्ध उम्मेदवारी दिए पनि सहमति खोज्न भनेर गत शुक्रबारदेखि बन्द सत्र रोकिएको छ।

बन्द सत्रले तय गरेको कार्यसूचीअनुसार अधिवेशन अघि बढेको भए आइतबार नेतृत्व चयनका लागि मतदान भइरहेको हुन्थ्यो। तर कार्यकर्तालाई जिल्ला नेतृत्व चयन गर्न नदिई शीर्ष तह आफैँले नेता छानिरहेका कारण आइतबारसम्म पनि यो विषय टुंगो लागेको छैन।

चुनावमा जाँदा आफूले चाहेको मान्छे कमिटीमा नपर्ने सम्भावना देखेपछि नेतृत्वले जबरजस्ती लाद्न खोज्ने प्रवृत्ति रहेको जिल्लाका नेताहरूको गुनासो छ। सोही कारण जिल्लाको नेतृत्व छान्न ढिला भएको जिल्लाका एक नेता बताउँछन्।

सहमतिका लागि भन्दै नेताहरुले आइतबारको मतदानलाई सोमबारका लागि सारेका छन्। सोमबार मतदान गर्ने भनिए पनि आइतबार साँझसम्ममा अध्यक्षदेखि सदस्यसम्मको नाम तय गर्ने तयारीमा नेताहरू लागेका छन्।

एमाले झापाका इन्चार्ज विशाल भट्टराईसहितको टिमले अहिले जिल्ला कमिटीमा राख्ने नामबारे छलफल गरिरहेको छ।

सहमतिका नाममा नेताहरुले रोजेको व्यक्तिलाई नेतृत्व सुम्पेको घोषणा गर्ने कदमले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कुन्ठित भएको भन्दै कार्यकर्ता असन्तोष प्रकट गरिरहेका छन्। तर उनीहरू यति त्रसित छन् कि आफ्नो यही मत पनि सार्वजनिक रुपमा व्यक्त गर्ने हिम्मत गर्न सकिरहेका छैनन्।

‘अध्यक्ष ओली र उहाँको टिमका अघि जिल्लाका ठूला नेता केही बोलेका छैनन्। हामी किन बोल्नेरु जिल्ला नेतृत्व छान्न भनेर प्रतिनिधि बनेर गएका हामी बन्द सत्र रोकेर घर आएर बसेका छौँ,’ झापा मेचीनगरका एमालेका एक कार्यकर्ताले भने, ‘जिल्ला कमिटी हामीले छान्न नपाउने भयौं। अहिले नेताहरु बसेर धमाधम नाम फाइनल गरिरहेका होलान्। कि मान्दिन भन्ने हिम्मत गर्नुपर्यों, कि मान्नुपर्यो। अब मान्नुको विकल्प देखिन्न।’

पार्टी जिल्ला अधिवेशनमा नेतृत्वले भनेको नमाने भीम रावलको हालत बनाइदिने प्रष्ट सन्देश दिएका ओलीकै निर्देशनअनुसार अध्यक्षमा प्रेम गिरी र उपाध्यक्षमा शिव ढुंगेलको नाम टुङ्गो लागेको छ। ढुङ्गेलले गिरीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान राखेका थिए। तर ओलीसित छलफल गरेपछि उनी उपाध्यक्षमा बस्न राजी भए।

अध्यक्ष ओलीसँगको छलफलपछि अध्यक्षको प्रतिस्पर्धा छाडेर उपाध्यक्ष बस्न ढुङ्गेलले स्वीकार गरे पनि सचिवमा उम्मेदवारी दिएका बोधप्रसाद घिमिरेले भने नाम फिर्ता लिन मानेका छैनन्।

‘नेताहरुले नाम फिर्ता लिनु भनेर धेरै दबाब दिइरहनु भएको छ। तर म उम्मेदवारी फिर्ता लिन्न,’ अहिले एमाले दमक नगरको इन्चार्जसमेत रहेका घिमिरेले भने, ‘जिल्ला कमिटी कार्यकर्ताबाट आएका प्रतिनिधिले छान्ने हो। नेताले होइन। मलाई प्रतिनिधिले अस्वीकार गरे भने ठिकै छ। अन्यथा म प्रतिनिधिमाझ गएर प्रतिस्पर्धा गर्न तयार छु। मैले सबैलाई यही भनेको छु।’

सचिवमा ओली र उनको टिमका नेताहरुले तुलसी कार्कीलाई ल्याउन चाहेका छन्। गत बुधबार झापा आएका ओलीले जिल्लामा उपलब्ध नेताहरु माझ गिरीलाई अध्यक्ष, असारु राजवंशीलाई उपाध्यक्ष, तुलसी कार्कीलाई सचिव बनाएर जान निर्देशन नै दिएका थिए।

नेताहरुले जिल्लाको नेता छानेको भन्दै असन्तुष्ट घिमिरेले अधिवेशनको हलमा प्रतिनिधिहरु शक्तिशाली हुने बताए। उनले ती प्रतिनिधिलाई आफ्नो कमिटी छान्ने अधिकार दिनुपर्ने पनि माग गरेका छन्।

‘पालिकाहरूबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरूबाट २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना र मनोनीत ३८ जना गरी ७८६ जना प्रतिनिधि सहभागी छन्,’ घिमिरेले भने, ‘मलाइ ती प्रतिनिधिको बहुमतले अस्वीकार गरे भने सहर्ष स्विकार्छु। नेताहरुले भनेको भरमा ब्याक हुन्न।’

त्यसो त सुरुमा ढुङ्गेल पक्षले पनि घिमिरेको जस्तै अडान लिएको थियो। सार्वजनिक रुपमा बोल्न भने उक्त समूह तयार थिएन। जब ओलीले घोषणा गरेको पदाधिकारीको सुचीमा अध्यक्षकै दाबेदार ढुङ्गेललाई कमिटी बाहिर राखिएको थाहा भयो, त्यो समुहले चुनावमाग गर्‍यो।

उनका समर्थक कार्यकर्ताहरुले चुनावबाट कमिटी छान्न माग गरे। त्यसपछि ओली र उनको टिम ढुङ्गेललाई उपाध्यक्ष मानेर जान राजी भएको थियो।

‘ओलीले भनेको लिस्टमा उहाँको नाम कतै थिएन। हामीले यो त अति भयो, चुनावमा जाने भनेपछि उहाँलाई उपाध्यक्ष मान्न राजी भए,’ ढुङ्गेल पक्षका एक नेताले भने, ‘त्यसैले अहिलेसम्म अध्यक्ष र उपाध्यक्ष टुङ्गेको मान्नुपर्छ। सचिव र उपसचिव तथा सदस्यहरुको टुङ्गो लागेकै छैन।’

उनकाअनुसार अरु सबैजसो पदमा एकभन्दा धेरैको उम्मेदवारी परेको छ।

‘अहिले आफूले चाहेको मान्छेलाई कमिटीमा राख्न मन नपरेकालाई अनेक बहाना गरेर उम्मेदवारी फिर्ता गर्न लगाइँदैछ,’ ती कार्यकर्ताले भने, ‘भन्न जनवादी केन्द्रियता भन्ने, लाद्न चाहिँ केन्द्रियता नै लाद्ने काम भइरहेको छ। चालीसको दशकमा देखिएको अभ्यास यतिबेला दोहोरिने भएको छ।’

एमाले केन्द्रीय नेताहरु भने झापामा ‘लोकतान्त्रिक प्रक्रियाको सबैभन्दा उत्तम विकल्प’ सर्वसम्मत रुपमा नेतृत्व छान्ने काम भइरहेको दाबी गर्छन्।

‘अनियन्त्रित लोकतन्त्र’ले अराजकता ल्याउने दलिल अघि सार्दै नेताहरुले ओलीको कदमको बचाउ गर्न खोजिरहेका छन्।

‘जनवाद र लोकतान्त्रिक प्रतिस्पर्धाका नाममा अनियन्त्रित हुँदा त्यो अराजकतामा परिणत हुन्छ। अनि केन्द्रीयताका नाममा लादने काम भयो भने त्यो निरङ्कुशता हुन्छ,’ केन्द्रीय सदस्य रविन कोइरालाले भने, त्यसैले हामी झापामा जनवाद र केन्द्रियताको संयोजन गरेर नेतृत्व चयन गर्दैछौं।’

उनले पार्टीभित्र अराजकता र निरङ्कुशता दुवै हाबी नहुने अवस्था ल्याउन नेतृत्व तह लागेको दाबी पनि गरे। सचिव पदबाहेक पुरुषतर्फ १ उपसचिव पदमा असारु राजवंशी, टीकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी संस्थापनले असारु राजवंशीलाई उपसचिवमा ल्याउन चाहेको छ। महिला उपसचिवमा अनिता कन्दङ्वाको नाममा सहमति भइसकेको छ।
सेतोपाटीबाट

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *