दमक, १८ चैत–दमकस्थित ऊँ मेची हस्पिटलले महिला तथा पुरुषमा हुने बाँझोपन समस्या सम्बन्धि एक दिने निःशुल्क शिविर आयोजना गर्ने भएको छ । भारत शिलिगुरीस्थित न्यूलाईफ फर्टीलिटी सेन्टरका अनुभवि चिकित्सकहरुको प्राविधिक सहयोगमा चैत ३० गते शुक्रबार ऊँ मेची हस्पिटलले शिविर आयोजना गर्ने भएको हो ।
आइतबार, दमक–७ मा रहेको ऊँ मेची हस्पिटलले पत्रकार सम्मेलन गरेर बाँझोपन के हो ? यसको समस्या सामाधान गर्ने उपाय र पद्धती, महिला तथा पुरुषहरुमा बढ्दो बाँझोपन लगायत एक दिने निःशुल्क शिविरको तयारीको बारेमा जानकारी गराएको छ ।
हस्पिटलका सञ्चालक तथा वरिष्ठ चिकित्सक शंकरप्रसाद हुजदारका अनुसार ऊँ मेची हस्पिटलले बाँझोपन समस्या सम्बन्धि आयोजना गर्न लागेको एक दिने निःशुल्क शिविरबाट २ सय बढीले सेवा लिने बताउनुभयो । वरिष्ठ चिकित्सक हुजदारका अनुृसार ऊँ मेची हस्पिटलले ३० चैत, शुक्रबार आयोजना गरेको शिविर तेस्रो पटक हो ।्
पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक हुजदारले शिविरमा विवाह पश्चात सन्तानको इच्छा हुँदाहुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गरिने बताउनुभयो । शिविरमा झापाका विभिन्न पालिकाहरुसहित इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुबाट निःसन्तान दम्पतीहरुले सेवा लिन आउने गरेका छन् ।
शिविरमा भारत सिलिगुरीस्थित न्यू लाइफ फर्टिलाइजर सेन्टरका विशेषज्ञ डाक्टर सिफली वंशल माधव, डा.प्रसिञ्जितकुमार रोयसहितको टिमले आवश्यक सेवा प्रदान गर्ने छन् ।
यसअघि, दुई पटक आयोजना भएका सो शिविरमा आएका कूल करिब ५ सय जोडी मध्ये ३० जोडी थप उपचार सेवाका लागि न्यू लाइफ फर्टिलिटी सेन्टर सिलिगुढी गएका बताइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमसहितको प्रसुती सेवा तथा स्त्री रोग सम्बन्धि उपचार सेवा दिदैं आएको दमक ७ स्थित ऊँ मेची हस्पिटलले निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविरलाई तेस्रो पटक निरन्तरता दिएको हो ।
३० चैत, शुक्रबार बिहान शिविरको एक कार्यक्रमबीच समुद्घाटनपछि निःसन्तान दम्पतीहरुको उपचार र परामर्श गरिने कार्यक्रम रहेको छ । सो शिविर, दमक ७ स्थित ऊँ मेची हस्पिटल परिसरमा बिहान १० बजेबाट शुभारम्भ हुने भएको छ ।
