काठमाडौँ, २५ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत २७ गते पार्टीले निषेधित क्षेत्रहरु तोडेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रदर्शनकारीलाई उत्तेजित नबनाउन र मुठभेड ननिम्त्याउन सरकारलाई चेतावनी दिएका छन्।
आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले कथित रुपमा सरकारले तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नभएको बताएका हुन्।
उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले प्रदर्शनकारीलाई उत्तेजित नबनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे।
उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलापअन्तर्गत विरोध गर्न पाउने अधिकार सरकारले कुण्ठित पार्दै लगेको आरोप लगाए। अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर विरोध प्रदर्शनलाई साँघुरो बनाउने प्रयत्न राप्रपालाई स्वीकार्य नरहेको बताए।
‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोड हुने छैन। तर सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस्‚’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु भने पछिल्ला दिन संविधानले नै दिएको सुविधा, विरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने प्रजातान्त्रिक अधिकार कुण्ठित गर्दै निषेधित क्षेत्र घोषणा गरेर साँघुरो बनाउने प्रयत्नहरु भइरहेको छ‚ जुन राप्रपालाई स्वीकार्य छैन।’
हिजो ९शनिवार०को प्रदर्शनमा राजनीतिक दलहरुको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै सरकारको भर्त्सना गरे।
शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुहरुमाथि लात्ती प्रहार गरेको थियो। सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ।
‘हिजोमात्रै पनि केही राजनीतिक दलका प्रदर्शनमाथि लाठी चार्ज भयो‚ भिक्षुहरुलाई लात्ती मुड्की गर्ने काम भयो‚’ उनले भने‚ ‘त्यसको म निन्दा र भर्त्सना गर्छु। राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेछ।’
उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने पनि स्पष्ट पारे। निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिन पनि उनले बिर्सिएनन्।
‘राप्रपाले मुख्य सडकमा जुलुस निकाल्नेछ। जनसाधारणलाई असुविधा हुने कुनै क्रियाकलाप गर्ने छैन। त्यो क्रममा कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिरोध गर्नेछौँ र प्रतिवाद गर्नेछौँ‚’ उनले चेतावनी दिए‚ ‘निषेधित क्षेत्रहरु राप्रपाले तोडेर अघि बढ्नेछ‚ सरकारले मुठभेडको स्थिति निर्माण नगरोस्।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरुलाई एकतावद्ध भइ आन्दोलनमा होमिन आग्रह गरे। उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने पनि बताए।

