राजेन्द्र लिङदेन

भद्रपुर, ५ बैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्ती मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

डिभिजन वन कार्यालय झापाले आयोजना गरेको ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा मन्तव्य राख्नुहँदै कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानी लगायतको व्यवस्थापन गर्न नसकिए जति नै तारबार लगाए पनि रोक्न नसकिने बताउनुभयो ।

“हात्तीलाई छेक्ने भन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।” वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नागरिकको जीउधनको सुरक्षाका लागि सरकारले सौर्य तारबार निर्माण गरेको बताउँदै उहाँले त्यसको संरक्षणमा सबैला अपनत्व ग्रहण आग्रह गर्नुभयो । “स्थानीयले अपनत्व नलिँदा कतिपय वन क्षेत्रमा लगाइएको तारबार लहरा र घाँसले छोपिएको छ, काम नलाग्ने भएको छ”, उहाँले भन्नुभयो, “जहाँ अपनत्व ग्रहण गरिएको छ, त्यहाँ राम्रो काम भइरहेको छ ।”

जति नै लगानी गरिए पनि संरक्षण नहुँदा त्यो लगानी खेर जाने बताउँदै उहाँले स्थानीय सरकारले तारबारको मर्मत र संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । “सामुदायिक वनका मान्छेहरुले सग्लो र ढलेको रुख हेरेर क्याल्कुलेर चलाउने मात्र होइन, वनको संरक्षण पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वनभित्रै हात्तीलाई कसरी राख्न सकिन्छ, त्यसतर्फ पनि ध्यान जान जरुरी छ ।”

कार्यक्रममा कोशी वन निर्देशनालय धरानका वन निर्देशक इन्द्रमणि भण्डारीले मानव–हात्ती द्वन्द्वबाट मान्छे मात्र नभएर हात्ती पनि पीडित भएको बताउनुभयो । सामुदायिक वनको नाममा वन क्षेत्रमा मानिसको प्रवेश बाक्लो हुन थालेपछि मानव–हात्ती द्वन्द्व बढ्दै गएको उहाँले बताउनुभयो ।

“हात्तीले खाने र मन पराउने रुख र लहरा मान्छेले वनबाट ल्याउन थालेपछि हात्तीलाई आहार अभाव हुन थाल्यो”, उहाँले भन्नुभयो, “जसले गर्दा आहाराको खोजीमा हात्तीको प्रवेश बढ्दै गएको छ ।” सोलार फेन्स अल्प र मध्यकालीन विकल्प भएको बताउँदै उहाँले हात्ती समस्या समाधान गर्न हात्तीको जैविक मार्ग अन्तिम विकल्प भएको उल्लेख गर्नुभयो ।

हात्ती नियन्त्रणका लागि जिल्लामा निर्माण भएका ७६ किलोमिटर सोलार फेन्स यहाँका २७ वटा समूहलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले झापा जिल्लामा मानव–हात्ती द्वन्द र सौर्य तारबारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, एटीएनसीका सदस्य सचिव चन्द्र अधिकारी, सामुदायिक वन प्रतिनिधि जानुका ओली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *