पाराबारी बजार (शिबसताक्षी), २२ बैशाख–झापाको शिवसताक्षी–३ साविक धरमपुर(कमलधाप) का ५५ बर्षिय चित्रबहादुर खड्कालाई दुःख, गरिबि, र समस्याको भारीले थिचेको बर्षौ–वर्ष भयो ।
बिहान बेलुका के खाउँ के लाउँको अवस्थाबाट गुज्रिरहेको खड्काको परिवारमा गएको १५ बैशाखको बिहानै गरीबि, दुःख र समस्याको हद्ले सीमा नाघ्यो । खड्काकी ४० बर्षिया श्रीमति लिला खड्काले इच्छामरणको बाटो रोजिन् ।
माइती घरको सहारामा बाँसका भाटाको बेरा र बाँसैले जस्ता पाता च्यापेर बनाएको खड्काको परिवारको टाउको लुकाउने ठाउँ अर्थात घर हो । यही घरको छेवैमा बाख्रा बाँध्न बनाइएको खोर छेउमा लिलाले पासो लागेर इच्छामरणको बाटो रोज्न पुगिन् ।
मृत्युपछि अनेकौ अड्कलबाजीहरु चल्नु स्वभाविक हो । अनुसन्धान गर्ने निकायले त्यसलाई एकदिन टुंगोमा पुर्याउला तर लिलाको मृत्युवरणले भने उनका दुई सन्तान र पतिका मनमा कहिल्यै नमेटिने दुखको छाप छाडेर गएको छ ।
छोरीसँगको विवाद दुखान्तमा परिणत
आफ्नो जिवनको अन्तिम रात पनि लिलाले गरीबिकै कारण छोरीको माग पुरा गर्न सकिनन् । आफ्नी एक मात्रै छोरी जमुनासँग पढाईका लागि चाहिने कापीको बन्दोबस्तीका बिषयमा विवाद ९ झगडा० भयो ।
चित्रबहादुर भन्नुहुन्छ– “अरु कुनै ठुलो बिषय होइन, छोरीले स्कूल जान कापी मागेकी रहिछ । त्यही बिषयमा आमा छोरी झगडा गरेछन् । बेलुका म आउँदा थाहा पाएँ । मैंले त्यति ठुलो रुपमा लिने कुरो भएन । बिहान हेर्दा उसकी आमा ९लिला ० बाख्रा बाँध्ने खोरका छेउमा उभिइराख्या जस्तो देखें र अरुलाई बोलाएँ भरे त उसले अर्कै बाटोपो रोजेकी रहिछ । “
लिलाको मृत्युवरण एकापट्टी दुखको घट्ना छदैछ । यस्तो दुखको घडीमा १३ बर्षिय छोरा दातारामले घरै छाड्नु परेको छ । दाताराम जन्मैदेखि अस्वभाविक किसिमका छन् । उनको टाउकोको आकार साधारण बच्चाको भन्दा ठुलो थियो । दमकको लाइफलाइन अस्पतालमा शल्यक्रिया ९अप्रेशन०बाट जन्मिएका थिए दाताराम । त्यो बेला खड्का परिवारको बसाइ गौरादहको ४ नम्बर वडामा पर्ने बरगाछीमा थियो । २र३ बर्षपछि खड्का परिवार माइती ससुरालीको आड भरोसामा शिवसताक्षीको कमलधाप पुगेको हो ।
दाताराम जन्मिनसाथ चिकित्सकहरुले उनको टाउको ठुलो देखिएको सम्बन्धिको उपचार गराउन सल्लाह दिएका थिए । चित्रबहादुरका अनुसार डाक्टरहरुले त्यसबेला धरान लगेर आइसियुमा राख्नुपर्छ पैसा धेरै लाग्छ भन्दै कति पैसा छ तपाइँसँग रु भनेर सोधेका थिए । तर खड्काले आफूसँग उपचारका लागि अन्यत्र लैजाने खर्च नभएको बताएपछि त्यत्तिकैमा घर फर्काइएको थियो दातारामलाई । दिनदिनै दातारामको शरिर सुक्दै गयो, टाउको बढ्दै गयो ।
टाउकोको भारी शरिरले थाम्न नसकेपछि उमेर बढेपनि दातारामले खुट्टा टेक्न सकेनन् । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको खड्का परिवारले उनको उपचार गर्न कहिं कतै लैजान सक्ने अवस्था भएन । छोरो उठेर हिंडन नसक्दाको पीडा त छदैं थियो लिलालाई छोरीको पनि इच्छा अनुसार पढाउन नसकेको पीडाले मृत्युको बाटोमा हिंडायो । आमा लिलाको इच्छामरणसँगै छोरा दातारामको हेरचाह र स्याहार सुसार गर्ने मान्छेको अभाव भयो । गाउँले र आफन्तहरुले २० बैशाख अर्थात लिलाको मृत्युको छैठौं दिन सुरुङगामा रहेको पुकार बाल आश्रममा पुर्याएका छन ।
खड्का परिवारको यो दुखसँग परिचित छन शिवसताक्षी ३ का वडाध्यक्ष भाष्कर न्यौपाने । युवा उमेरका वडाध्यक्ष न्यौपानेलाई खड्का परिवारको यो अवस्थाले निक्कै पिरोलेको छ । न्यौपानेले भन्नु भयो– “मैंले मात्रै होइन खड्का परिवारको यो दुःखमा उहाँका आफन्त, नातागोता र छरछिमेकीहरुले पनि उत्तिकै मद्धत गरिरहनु भएको छ । हामीले हाम्रो ठाउँबाट पहिल्यैदेखि सहयोग गरिआएका छौं । अब दातारामको उपचार र यो परिवारलाई दुखबाट उकासेर सहज जिवनयापनका लागि देशविदेशका सहयोगी हातहरुको खाँचो छ ।”
स्थानीय सरकारले खड्का परिवारलाई तत्काल अहिलेको यो अवस्थाबाट उकास्नका लागि काज किरिया सहयोग स्वरुप ५० हजार रुपैयाँ सहयोग दिने निर्णय गरिसकेको वडाध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।
साभारः निष्कर्ष न्यूजबाट
