काठमाडौं, १६ वैशाख–कृष्णप्रसाद सिटौला पार्टीको आन्तरिक बर्खास्तीमा परेका छन् । उनलाई राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाइएको छ ।
सिटौलाको ठाउँमा कमलादेवी पन्त लाई मनोनीत गरिएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरेका हुन् ।
स्रोतका अनुसार सभापति गगन थापा र सिटौलाको सम्बन्ध पछिल्लो समय तिक्ततापूर्ण थियो । उपसभापति विश्वप्रकाश शर्मा सँग समेत सिटौलाको सम्बन्ध सुमधुर थिएन ।
नेपाली कांग्रेस को १३औँ महाधिवेशनमा सिटौला सभापतिका उम्मेदवार बनेका थिए भने सभापति थापा महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला दुवै एउटै धारमा थिए र पार्टीभित्र ‘तेस्रो शक्ति’ निर्माण गर्ने प्रयास देखिएको थियो । महाधिवेशनपछि उनीहरूले नयाँ नेतृत्व आवश्यक भएको बताएका थिए ।
१३औँ महाधिवेशनपछि गगन थापा स्वतन्त्र राजनीतिक छवि बनाउन लागे । सिटौलासँग उनको सम्बन्ध कमजोर बन्दै गएको विश्लेषण सार्वजनिक रूपमा आएको थियो ।
गगनले आफ्नो पुस्ता, सुधारवादी लाइन र प्रत्यक्ष जनसमर्थनमा जोड दिए भने सिटौला पुरानो संगठनात्मक राजनीतिमा केन्द्रित रहे । १४औँ महाधिवेशनमा सभापति थापा शेखर समूहबाट सभापति बने ।

