दमक, ४ असार–दमक–६ पशुपती मन्दिरमा अवस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले आज १३औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा शिखा बचत तथा ऋण सहकारी संस्थाले मंगलबार रक्तदानसहित फोहोरमैला व्यवस्थापनका लागि डस्विन समेत बितरण गरेको छ ।
पशुपती मन्दिर रोडमा अवस्थित संस्थाको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० प्रिन्ट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमितिहरु, सल्लाहकार समिति, कर्मचारीहरु र सदस्यहरुसहित ५० जनाले सहभागिता जनाएका थिए ।
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । सोही कार्यक्रमबीच रेडक्रस सोसाइटी दमक उपशाखालाई शिाखा बचत तथा ऋण सहकारी संस्थाले प्राबिधिक सेवामा सहज पुर्याउने उदेश्यले उपकरण राख्ने लकर हस्तान्तरण गरेको छ। सो उपकरण संस्थाको तर्फबाट रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाललाई हस्तान्त्रण गरिएको अध्यक्ष तेजु श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ (तेजु) ले शिखा बचत तथा ऋण सहकारी संस्थाले बार्षिकोत्सवलाई सदस्यहरुमुखी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक उत्तरदायित्वका जिम्मेवारी पुरा गरिरहेको बताउनुभयो । अध्यक्ष तेजु श्रेष्ठका अनुसार प्रत्येक वर्ष आजैको दिन (४ असार) रक्तदानसहित मानवीय तथा सामाजिक कार्यहरु गर्दैआइरहेको छ ।
सहकारी संस्थाका सचिव किराँती तीर्थ राईले बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई मायाको चिनोसमेत वितरण गरिएको बताए ।
संस्थाका प्रमुख व्यवस्थापक तुलसी राजवंशीका अनुसार स्थानीय टोल विकास संस्थालाई १२ थान फोहोरमैलो सङ्कलनका लागि डस्विन बितरण गरिएको छ ।
