काठमाडौँ, १२ असार–नेकपा (एकीकृत समाजवादी) ले पार्टी गठनको करिब तीन वर्षपछि महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै छ। एमालेबाट विभाजित भई २०७८ भदौमा बनेको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ।

एकीकृत समाजवादीले यसलाई दशौँ राष्ट्रिय महाधिवेशन भनेको छ। २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफूलाई मानेको उसले यसअघिका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई दशौँ हुने तर्क गरेको छ।

महाधिवेशन आउन केही दिन मात्र बाँकी छँदा नेतृत्वका आकांक्षीहरूको दौडधुप तीव्र छ। एकीकृत समाजवादीको नेतृत्वमा त्रिपक्षीय भिडन्त हुने निश्चितप्रायः छ। नेतृत्वका लागि वर्तमान अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी छन्। उनीहरू तीनैजना आ(आफ्नो पक्षमा महोल बनाउन व्यस्त छन्।

नेपालले आफ्नै निरन्तरता चाहेका छन् भने खनाल नेतृत्व हस्तान्तरण नभए पार्टीले गति लिन नसक्ने भन्दै आफ्नो पक्षमा सहमति जुट्नुपर्ने पक्षमा छन्। उमेरले ७० नाघिसकेका अघिल्लै पुस्ताका यी दुई नेताहरू बलिया आकांक्षी हुन्। एकीकृत समाजवादीले गत वर्ष माघमै ७० वर्षे उमेरहद हटाएर वृद्ध पुस्तालाई बाटो खुला गरेको थियो। नेपाल र खनाल दुबै एमालेको पनि नेतृत्व गरेर आएका नेता हुन्।

उपाध्यक्षसमेत रहेका नेपाल निकट नेता वेदुराम भुसाल महाधिवेशनले अहिलेकै नेतृत्वलाई निरन्तरता दिने दाबी गर्छन्। नेतृत्व हस्तान्तरणको सम्भावना र आवश्यकता दुबै नभएको उनी बताउँछन्।

‘नेतृत्व हस्तान्तरणको सम्भावना पनि छैन‚ आवश्यकता पनि छैन’, उपाध्यक्ष भुसालले भने, ‘पार्टीलाई जसले यहाँसम्म ल्याउनुभयो उहाँ ९माधव नेपाल०कै निरन्तरताको आवश्यकता छ।’

सम्मानित नेता खनाल भने नेपालबाट नेतृत्व खोसेरै छाड्ने रणनीतिमा देखिएका छन्। उनी पार्टीलाई नयाँ गति दिन र साँच्चिकै कम्युनिष्ट पार्टीको उत्तराधिकारी बनाउन नेतृत्व हस्तान्तरण हुन आवश्यक ठान्छन्।

नेपालपक्षीय नेताहरूले नेतृत्व हस्तान्तरणको आवश्यकता र सम्भावना नरहेको बताए पनि नयाँ ढंगबाट जानुपर्छ भन्ने चिन्तन आमरूपमा भइरहेको खनालनिकट मानिने नेता जीवनराम श्रेष्ठ बताउँछन्। ‘सबैतिर नयाँ ढंगले जानुपर्छ भनेर एक खालको आमजनमानसमा चिन्तन विकास भएको पाउँछौं’, उनले भने, ‘त्यसकारण नेतृत्व हस्तान्तरणको सम्भावना नहुने त कुरै भएन।’

नेपाल र खनाल दुबैजना भुसाललाई महासचिवमै दोहोर्‍याएर आफू अध्यक्ष हुन चाहन्छन् तर दोस्रो पुस्ताका नेता भुसाल भने नेतृत्वमा पुस्ता नै हस्तान्तरण हुनुपर्ने पक्षमा छन्। पछिल्लो डेढ दशकयता अघिल्लो पुस्ताले नेतृत्व मात्रै ओगटेकाले अब भने उनीहरूको विस्थापन आवश्यक रहेको भन्दै अध्यक्षमै लड्ने तयारीमा भुसाल छन्।

‘अहिले जुन पुस्ता लिडरसीपमा छ, त्यसले गरेन। आन्दोलनअघि नगरेको होइन, गणतन्त्र ल्याउने वेलासम्म गरेको कुरालाई सम्मान गर्नैपर्छ। त्यसयता १५/१७ वर्षयता चाहिँ यो पुस्ताको ओरालो यात्रा हो’, महासचिव भुसाल भन्छन्, ‘यो कुरा उनीहरूले बुझ्नुपर्ने हो तर बुझेनन्।’

नेता भुसाल भावी नेतृत्व चयनका क्रममा वृद्ध पुस्तालाई टक्कर दिन तम्तयार देखिन्छन्। उनी अहिलेको प्रमुख समस्या नै अघिल्ला पुस्ताले बाँचुन्जेल पद नछाड्ने प्रवृत्तिलाई ठान्छन्।

‘एकचोटि पदमा पुगेपछि बाँचुन्जेल छोड्दै नछोड्ने खालको समस्या छ’, उनी भन्छन्, ‘त्यसकारण विद्रोह नगरीकन हुँदै नहुने अवस्था छ तर त्यो तहसम्म स्थिति नजावस् भन्नका लागि छलफलद्वारा केही प्रयत्न गरेको हो‚ भइराख्या छैन।’

हिजो ७० वर्षे उमेरहद हटाएर युवा पुस्ता बढी नै उदार बनेको महासचिव भुसाल बताउँछन्। ‘हामी ७० वर्षे उमेरहद हटाएर बढी उदार भयौँ जस्तो लाग्छ’, उनी भन्छन्, ‘तर यो सोचेर कि उनीहरूले विधानले मात्रै होइन, किन आफैँले सहज रूपमा छोड्छन् भन्ने थियो तर त्यहीँ टेकेर अगाडि जान खोजे।’

त्यसो त माधव नेपालमाथि दबाव बढाउन महासचिव भुसाललाई नेतृत्वको आकांक्षीका रूपमा सम्मानित नेता खनालले अघि सारेको चर्चा पनि छ। यसबारे नेपालले खनाललाई भेटेरै सोधेका पनि थिए। आइतबार साँझ बबरमहलस्थित एक होटलमा नेपालले खनालसँग यसबारे जिज्ञासा राखेका हुन्। खनालले आफैँ अगाडि बढेको भन्दै भुसाललाई अघि सारेको कुरा अस्वीकार गरेका थिए।

महासचिव भुसाल स्वयंले पनि यसलाई अस्वीकार गरे। यसबारे प्रश्न गर्दा उनले भने, ‘त्यस्तो होइन, उहाँहरू नै कसले के भन्नुहुन्छ, के प्रचार गर्नुहुन्छ त्यो भनेको दोस्रो कुरा हो। खासमा उहाँहरूमा नेतृत्व छोड्ने चाहना छैन।’

पार्टी नेतृत्वको सवालमा रस्साकस्सी चलिरहेका वेला सबै आकांक्षीले सहमति गरेर जाने भन्न छुटाएका भने छैनन्। तीनैजना आकांक्षी आफ्नो पक्षमा सहमति चाहन्छन्। आफ्नो पक्षमा सहमति हुन नसकेको अवस्थामा चुनावका लागि पनि पछि नहट्ने मनस्थितिमा उनीहरू देखिन्छन्।

तर खनाल र भुसाल मिलाउन केही नेताहरू सक्रिय रहेको बताइन्छ। अन्तिममा भुसाल आफ्नो अडानबाट पछि हटेको अवस्थामा उनी नेपालभन्दा खनालतिरै ढल्किने सम्भावना धेरै छ।

किनभने पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद हुनै सक्दैन’ भन्ने लाइनमा खनाल–भुसाल एकसाथ छन्। नेपालले भने केही समय अघिसम्म जबजलाई छाड्न नसकिने बताउँदै आएका थिए तर पार्टीमा एक्लिने सम्भावना बढेपछि अहिले नेपाल पनि जबजको अडानबाट पछि हटिसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *