केर्खा (कमल), १४ असार–कमल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारको सक्रियतामा दातृ संस्थासँग द्धिपक्षीय सम्झौता भएको छ ।
जन्मजात तथा जन्म पश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम् अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने उद्देश्यले गाउँपालिका र करुणा फाउण्डेसन बीच शुक्रबार गाउँपालिकामा औपचारिक रुपमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाको सिमित बजेटले मात्रै नागरिकका अपेक्षा पुरा गर्न कठिन हुने भएकाले यस किसिमको सहकार्य र समन्वयका लागि करुणा फाउण्डेशनप्रति धन्यवाद व्यक्त गरे ।
पालिकाको बिकास र नागरिकका बिकासका अपेक्षा पुरा गर्न तिनै तहका सरकारका साथै अन्य गैह्रसरकारी संघ संस्थाहरुको समेत सहकार्य आवशयक रहेको पालिका अध्यक्ष राईले जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले कार्यक्रमलाई सफल बनाउन गाउँपालिकाको सम्पुर्ण टिमनै लागि पर्ने प्रतिबद्धता जनाइन् । कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिसकिएको अवस्थामा उपाध्यक्ष तिवारीले अब कमल गाउँपालिकालाई प्रदेशकै पहिलो आपाङ्ग मैत्री गाउँपालिका बनाउने गरि अघि बढ्ने बताइन् ।
सम्झौता पत्र हस्ताक्षर गर्न आयोजित सो कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले करुणा फाउण्डेसन संँगको सहकार्यमा सञ्चालन गरिने कार्यक्रमले गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाको जन्म घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अपाङ्गता भएका बालबालिकाको जन्मदर घटाउनुका साथै अपाङ्गता भएका व्यक्तिहरुको जिवन सहज बनाउन पनि कार्यक्रम प्रभावकारी बन्ने उनको अपेक्षा थियो ।
कोशी प्रदेश सरकार, कमल गाउँपालिका र फाउण्डेसनको संयुक्त आर्थिक लगानीमा कार्यक्रम सञ्चालन हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको संस्था समूह गठन र उनीहरूको सशक्तीकरण, जनचेतना साथै पहँचयुक्त भौतिक संरचना र वातावरण तय गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघको प्रदेश समिति र गाउँपालिकाका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको सहयोग तथा सहजीकरणमा गर्ने, गाउँपालिकाले कार्यक्रम अवधिभर सार्वजनिक भवनहरू तथा स्थलहरूलाई सबैको पहुँचयुक्त बनाउने र आफ्नो पालिकालाई पहुँचयुक्त स्थानीय तह घोषणाको लागि पहलकदमी लिने सम्झौता गरिएको बताइको छ ।
प्रथम पक्षले सम्झौता बमोजिम कार्यक्रमको अवधि सकिएपछि प्रदेश सरकार, संघिय सरकार तथा अन्य साझेदारहरुको सहयोगमा कार्यक्रमलाई निरन्तरता दिने सम्झौता गरिएको छ ।
करुणा फाउन्डेसनका निर्देशक योगेन्द्र गिरीले कार्यक्रममा अपाङ्गता भएका बच्चा जन्मन नदिनका लागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलिक एसिड खान लगाइने र बच्चा जन्मेपछि २९ दिन भित्र स्वास्थ्य परिक्षण गरिने जानकारी दिए ।
१० वर्ष मुनिका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनीहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने सम्झौतामा उल्लेख छ ।
