काठमाडौँ, १६ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन्।
एसएस फाउण्डेसनले बानेश्वरमा शुक्रवार एक कार्यक्रम आयोजना गर्दै अमिषालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो। एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिषालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।
गत बुधवार मात्र सम्पन्न साफ महिला च्याम्पियनसीपमा नेपाललाई फाइनलसम्म पुर्याउन अमिषाको महत्वपूर्ण भूमिका थियो। उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन्।
सम्मान कार्यक्रममा अमिषाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। उनले हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने बताइन्।
फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पूर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए। उनले राम्रो काम गर्दै आएका राष्ट्रिय प्रतिभासँगै समाज योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै आएको उल्लेख गरे।
घरेलु भूमिमा सम्पन्न सातौँ संस्करणको साफ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा लगातार उपाधिविमुख भएको थियो।
सोही फाइनलमा अमिषाले गोल गर्दै बराबरीमा ल्याएकी थिइन्। तर अन्तिम समय सम्हालिन नसक्दा नेपालले लगातार दोस्रो संस्करणमा बंगलादेशसँगको भिडन्तमा हार व्यहोर्नुपरेको हो।