काठमाडौं, २० कार्तिक–उत्तरीको छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिइएको हो ।
एकसाता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको स्रोतले जानकारी दियो । यद्यपि प्रधानमन्त्री ओलीले त्यसको जबाफ भने दिइसकेका छैनन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेटवार्ता भएको थियो ।
उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए । सोहीअनुसार नै चीनबाट निम्तो आएको र त्यसबारेमा छिट्टै निर्णय गर्ने बालुवाटार स्रोत बताउँछ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि कोशिस गरिरहेकी छिन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि अमेरिकामा भेट भएको थियो।
त्यसबेला नेपालका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो । भारतीय पक्ष भने प्रधानमन्त्री ओलीलाई बोलाउने विषयमा अहिलेसम्म मौन छ । नेकपा ९एमाले० का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएपछि ओली छिमेकी भारत र चीन भ्रमणमा गएका छैनन् । यसपालि प्रधानमन्त्री भएपछि ओलीलाई पहिलो पटक चीनले भ्रमणको औपचारिक निम्तो दिएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका खण्डमा त्यसबेला बिआरआइ परियोजनालगायत विषयमा पनि कुराकानी हुनेछ ।

