मधुमल्ला (मिक्लाजुङ), २२ कार्तिक–मोरङको मधुमल्लामा मिक्लाजुङ साहित्य समाजले सिर्जना अनावरणको १०ओैँ श्रङ्खला सम्पन्न गरेको छ । प्रसिद्ध चार कविहरूको सिर्जना वाचनसहित सिर्जना अनावरणको १०औं श्रङ्खला सम्पन्न भएको हो ।
आज (बिहीबार) मधुमल्ला पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रसिद्ध कविहरू हेमन यात्री, सीमा आभास, सुदीप पाख्रिन र मुनाराज शेर्माले आ–आफ्ना सिर्जनाहरु सुनाए ।
कवि यात्रीले ‘आमाको गीत-१’, ‘आमाको गीत-२, ‘स्वयम्भू’ र ‘बिर्सिगएको मानिस’ वाचन गरे । त्यस्तै, कवि आभासले ‘प्रार्थना’, ‘पाकेटमार’, ‘चक्रवर्ती महाराजप्रति’, ‘आमाले बिद्रोह गरे के होला ?’ र ‘नानीहरूलाइ विद्यालय पठाएपछि’ सुनाइन् । धरानका कवि सुदिप पाख्रिनले ‘गुनासो’, ‘मावल’, ‘बोध १’, ‘बोध ११’ र‘नानीहरूलाइ उपहार’ वाचन गरे ।
प्राज्ञ एवम् कवि प्राज्ञ मुनाराज शेर्माले ‘एक पत्नीको तर्फबाट’, ‘रक्सी नपिउनु आदिवासी पहाड’, ‘शहर’, ‘यो सन्सारमा एक्लै हुन सक्छौ’, ‘ख्याली’ सुनाए ।
आयोजक मिक्लाजुङ साहित्य समाजले साहित्य क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै कविहरूलाई सम्मान पत्रसहित सम्मान पनि गरेको थियोे ।
कार्यक्रममा देवान किराती, सुन्दर करुप, शिव प्रणत, टिका आत्रेय, राज माङ्लाक, लीला अनमोल, रुमानी कुलुङ, रुद्र प्रभात, टिका खड्का राष्ट्रिय प्रेमी, प्रज्वल पराजुली, मौलश्री लिम्बू, विशाल नाल्बो, यज्ञ परिश्रमी, किरण शिवा, पराजित पोमु, कृष्ण उदासी, सुमन राई, दिपक चम्सु, युग योगी राई, दधि अज्ञात, प्रदिप योङहाङ, तिलक राई, नयन श्रेष्ठ, लक्ष्मीप्रसाद फुयाल, रेवतीप्रसाद घिमिरे, केशव रेग्मी लगायत पाँच दर्जनभन्दा धेरै कविहरुको उपस्थिति थियोे ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले कविताको क्षेत्रमा सग्लो परिचय बनाएका चार कविहरुलाइ एउटै मञ्चमा एकैसाथ सुन्न पाउनु महत्त्वपूर्ण क्षण रहेको बताए ।
कार्यक्रमको अध्यक्षता कवि गगन योक्पाङ्देनले गरेका थिए । उनले समापन मन्तव्यको क्रममा संस्थाले विगतदेखि नै विभिन्न महत्त्वपूर्ण साहित्यिक गतिविधि गर्दै आइरहेको र आगामी समयमा पनि निरन्तरता दिँदै स्थानीय नवसर्जकहरुलाई समेत प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कमल मिश्रले स्वागत मन्तव्य राखेका थिए भने चन्द्र नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।
