काठमाडौँ, ४ मंसिर–सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र मुलुकलाई सम्मुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए।
नेता सिटौलाले प्रमुख दलहरुबीच विश्वासको संकट गहिरिँदै गएको उल्लेख गर्दै त्यसले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएको जिकिर गरे।
उनले मुलुकमा सामाजिक न्याय, शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौताको जगमा संविधान निर्माण भएको भन्दै त्यसलाई सार्थक बनाउने कार्यमा दलहरुबीच घनिभूत छलफल हुनुपर्नेमा जोड दिए।
नेता सिटौलाले प्रमुख दलहरुबीचको अविश्वास बढ्दै जाँदा संसद, सरकार र न्यायपालिकाले समेत काम गर्न नसक्ने अवस्था बनेको तर्कसमेत गरे।

