ताप्लेजुङ, ६ मंसिर—संघीयतापछिका हरेक निर्वाचनमा गठबन्धन गरेका जिल्लाका राजनीतिक दल पहिलो पटक एक्ला(एक्लै आमनेसामने हुने भएका छन् ।
सिरिजङ्गा गाउँपालिका(३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनकै लागि चुनावी मैदानमा देखिएका पाँचदलका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि पहिलो पटक आफ्नो मत परिक्षण गर्ने भएका हुन् ।
उपनिर्वाचनमा नेपाली कांग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र) बाट अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र सङ्गीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बूको उम्मेदवारी परेको छ ।
मनोनयन फिर्ता लिने दिनसम्म कुनै न कुनै दल मिल्ने आँकलन राजनीतिवृत्तमा थियो । तर, बुधवार कसैले पनि फिर्ता नलिएपछि आफ्नो मत परीक्षण गर्ने तयारी देखिएको हो ।
२०७९ मा समीकरण गरेका कांग्रेस र माओवादी केन्द्र एकले अर्कालाई छोड्ने विषयमा छलफल गरेका थिए । तर, दुई वर्ष अघिको निर्वाचनमा सबै सदस्य छोडेर वडाध्यक्ष लिएको कांग्रेसले त्यो समीकरण २०८४ सम्म भएको र वडाध्यक्ष आफूलाई सघाउनु पर्ने बताएको थियो ।
माओवादीले उक्त प्रस्ताव स्वीकारेन । बरू निर्वाचित वडा सदस्यलाई नै राजीनामा गराएर वडाध्यक्षमा उम्मेदवार बनाएको छ ।
यसअघिको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका थिए भने एमाले र लिम्बुवान एक्लाएक्लै निर्वाचनमा थिए ।
वडाध्यक्षमा अहिलेका एमाले उम्मेद्वार कुमारीलाई चार मतले पराजित गर्दै कांग्रेसका दिलविक्रम बोखिम निर्वाचित भएका थिए । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
