–रामविकास चौधरी/लुम्बिनी, १० मंसिर-बुद्धका प्रतापी र सन्तीय गाथाहरु सुन्दै हुर्केका ६० वर्षीय हुसेनी लोधले किशोरावस्थामा मायादेवी मन्दिरमा देखेका प्राचीन मूर्ति र चीजवस्तुहरू खोज्दै गरेको वर्षौं बित्न लाग्यो । मनोलोक बाहेक उनले ती मूर्ति र चीजवस्तुहरुको साक्षात्कार गर्न सकेका छैनन् ।

प्राचीन मन्दिरभित्र रहेका मूर्तिहरूको दर्शन गर्ने उनको आश यत्तिका वर्षमा सेलाएर गएको छ । ‘अब सायद कहिल्यै ती मूर्तिहरू लुम्बिनीको पवित्र माटोमा फर्किदैनन्’, चिन्ता गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का हुसेनीले दुःखेसो पोखे । मूर्ति खोजी गर्ने आतुरताले हुसेनीको मनमा दिएको सन्तापको यो अन्तिम कारण भने होइन । प्राचीन मन्दिर भत्काइनुअघि सन् १९९२ सम्म मन्दिर परिसरमा रहेको ‘बोधीवृक्ष’ र मन्दिरमा प्रयोग भएका प्राचीन इँटा पनि उनले देखेका छैनन् । त्यहाँ पुरानै दृश्यको झल्को दिने गरी नयाँ मन्दिर ठड्याइएको छ । बुद्ध गर्भस्थ रहँदा र जन्मेपछि पनि मायादेवीले स्नान गरेको पुस्कारिणी पोखरीलाई सिङ्गारिएको छ । सम्राट अशोकले ठड्याएको अशोक स्तभले बुद्ध जन्मस्थललाई पहिचान गराउँदैछ ।

उनले मायादेवी मन्दिरमा बिहान बेलुका बज्ने घण्टा र शङ्खध्वनिको आवाज सुनेर मन खुसी गराउन पाएका छैनन् । उनले आफूले सानो उमेरमा देखेका थुप्रै प्राचीन मन्दिर फेरिएको बताए । ‘धार्मिक झल्को दिने पूजापाठ, मूर्ति र चीजवस्तुरु नहुँदा मन्दिरमा रौनकता छैन्’, पण्डित युगुलकिशोर त्रिपाठीले भने, ‘नयाँ ठड्याइएको मायादेवी मन्दिर र अनाधिकृत रुपमा निर्मित गजुरमाथि देखिने असंख्य परेवाहरुले त्यहाँ शान्तिको सौम्यतालाई होइन, अनमोल सम्पदाहरु हराइरहेको ढोंग र क्रुरतालाई प्रकट गरिरहेको आभास दिएको छ ।’

लुम्बिनी उपवनभित्र समयमाइ ९जसलाई रूमिन्देइमाई र पछि महामाया पनि भनिन्छ० को स्थानमा महारानी मायादेवीको कोखबाट इशापूर्व ६२३ मा बोधीसत्वले जन्म लिएका थिए । तथागत भगवान बुद्धले राजकुमार सिद्धार्थका रुपमा यसै लुम्बिनी भूमिमा जन्म लिई पहिलो पाइला टेकेको स्थानीय श्रुति, अशोकस्तम्भ र विभिन्न धर्मग्रन्थमा उल्लेख छ।

राजकुमार सिद्धार्थका रुपमा भगवान् बुद्धको न्वारान भएको लुम्बिनी उपवन त्यसै पनि पवित्र र महत्वपूर्ण छ। उनलाई जन्म दिनुपूर्व महारानी मायादेवीले स्नान गरेको पुस्कारिणी पोखरी, बोधीबृक्ष, स्थानीयले चिनोस्वरूप राखिदिएको बुद्ध जन्मस्मारक शिला (मार्करस्टोन) र अशोक स्तम्भ त्यहाँका महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक धरोहरहरु हुन् ।

प्राचीन मन्दिर आफैमा अनमोल थियो । इन्द्रलगायत देवताहरुले पुष्पवृष्टि गरिरहेको बुद्ध जन्माङ्कृंत मायादेबीको मुख्य मूर्ति, बाराहीदेवी, भगवान गणेश र दुर्गा भगवतीको मूर्ति तथा सन् १९९३ मा उत्खनन्बाट प्राप्त तथागत भगवान बुद्धको अस्तुधातुलगायतका चीजवस्तुहरू पनि लुम्बिनीका धार्मिक, पुरातात्विक सम्पदा हुन् । तर ती सम्पदाहरु कि त बिगारिएका छन्, तोडिएका छन् वा एक–एक गर्दै हराइरहेको पण्डित योगेन्द्रनाथ पाण्डेको भनाइ छ ।

‘सन् १९९३ मा मायादेवी मन्दिर तोडिदाको समयमा मन्दिर र मन्दिर परिसरभित्र ४७ थान मूर्ति तथा सामग्रीहरु रहेको तथ्याङ्क छ’, पाण्डेले भने । ती मूर्तिहरु, सामग्रीहरु र अस्तुधातु समेतको खोजी गरी लुम्बिनीमै पुनःस्थापित गर्नुपर्ने उनको माग छ । ‘ती मूर्ति र सामाग्रीहरुमध्ये बुद्धजन्माङ्कृत मुख्य मूर्तिको माथिल्लो दाहिनेतर्फ इन्द्रलगायतका देवताले पुष्पवृष्टि गर्दै गरेको भाग खण्डित गरी काटेर निकालिएको छ’ लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले भने, ‘त्यसमध्ये बुद्ध जन्माङ्कृत महामायाको मार्बलको मूर्ति राजकीय बुद्ध बिहारमा राखिएको छ भने बाराहीदेबीको मूर्तिलाई दुई टुक्रामा खण्डित गरी सङ्ग्रहालयको बाह्य भागमा राखिएको छ ।

त्यसैगरी दुबै हात भाँचिएको मार्बलको बुद्ध मूर्ति तथा तामाको दुई थान बुद्ध मूर्तिबाहेक अनमोल मूर्तिहरु र अस्तुधातु लुम्बिनीमा देखिएका छैनन् ।’ लुम्बिनी विकास कोषले ११ सय ५५ बिघामा रहेको स्थानीयको घर–जग्गा अधिग्रहण गर्दा स्थानीयबासी विस्थापित भएपछि त्यहाँबाट धार्मिक तथा पुरातात्विक महत्वका मूर्ति र चीजवस्तुहरु हराउन थालेको लुम्बिनीमा गठित लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।

उनले भने, ‘गुरूयोजना अनुसार मायादेवी मन्दिरलाई पुरानै स्वरूपमा तत्काल पुर्नस्थापित गरी हराइरहेका मूर्ति र अस्तुधातु जस्ता बहुमुल्य सामग्रीहरु खोजी गरी संरक्षणको काम तत्काल थाल्नुपर्छ ।’ तत्कालीन लुम्बिनीबासी, हाल शुद्दोधन गाउँपालिका कपिलवस्तुका पूर्वअध्यक्ष नेसार अहमद खाँका अनुसार ‘बुद्ध जन्मभूमि लुम्बिनी सम्पदाका अवैतनिक पहरेदार त्यहाँका स्थानीयवासीलाई २०३१ को दशकमा लुम्बिनी विकास कोषले घर जग्गाबिहीन बनाई भगाएपछि मात्र प्राचीन धार्मिक चीजवस्तुहरु हराउने र हिन्दू पुजारीबाट पूजापाठ गर्ने सदियौँको परम्परा तोडिएको थियो ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व प्रमुख मनमोहन चौधरीले भने, ‘लुम्बिनीबाट हराइरहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको खोजी हुनैपर्छ ।’ नेपाल सरकार र लुम्बिनी विकास कोषले ती सम्पदाहरुको संरक्षण–प्रवद्र्धनका लागि स्थानीय विज्ञ, खोजकर्तालाई प्रयोग गर्नुपर्ने उनको सुझाव छ । लुम्बिनी बिकास कोषका प्रमुख पुरातत्वबिद हिमाल उप्रेतीले उत्खननका समयमा मायादेबी मन्दिर र परिसरमा रहेका केही मूर्ति र सामाग्रीहरू लुम्बिनी स्थित सङ्ग्रहालयमा त केही छाउनी सङ्ग्रहालय काठमाडौंमा रहेको बताए । ‘हराइरहेका मुख्य चार थान मूर्ति, अस्तुधातु तथा सामग्रीहरुको खोजी भइरहेको छ’, उनले भने, ‘अब सबै सामग्री सङ्ग्रहालयमा स्थापित गरिने छन्।’

लुम्बिनी बिकास कोषका सूचना प्रमुख हरिध्वज राइले प्राचीन मन्दिरमा रहेको पीपल बोटको जराले मौर्यकालीन एन्टिक इँटाहरूलाई नष्ट गरिरहेकाले युनेस्को र पुरातत्वविद्हरुको सल्लाहअनुसार नै हटाइएको बताए । हराइरहेका मूर्तिहरु, अस्तुधातुबारे सदस्य सचिव सानुराजा शाक्यले आफूलाई जानकारी नभएको भन्दै खोजी गर्ने जनाए । यसअघिका सदस्य–सचिव अजितमान तामाङको प्रतिक्रया पनि उनीसँग मिल्दो छ ।

सन् १९७० मा संयुक्त राष्ट्रसङ्घको अगुवाइमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरको एक समिति गठन भएको थियो । समितिले त्यसैवर्ष जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेलाई लुम्बिनी विकासको गुरुयोजना बनाउन नियुक्त गरेको थियो । प्रो।टाङ्गेले बनाएको गुरुयोजनालाई सन् १९७८ मा सरकारले स्वीकृति दिएको थियो । लुम्बिनी विकास कोष ऐन, २०४२ मा कोषको गुरुयोजना कार्यान्वयन गर्न तथा रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा छरिएर रहेका विभिन्न बौद्ध तीर्थस्थलहरूको अन्वेषण, उत्खनन्, जीर्णोद्धार तथा संरक्षण–प्रवर्द्धन गर्नका लागि तत्कालीन सरकारबाट कोषको गठन भएको थियो ।’ लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं बौद्ध भिक्षु डा। ल्यारक्याल लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट हराइरहेका मूर्तिहरु र तथागत भगवान् बुद्धको अस्तुधातुलगायत बहुमूल्य सामग्रीबारे चिन्ता व्यक्त गरे । उनले त्यसबारे सत्यतथ्य खोजी पारी लुम्बिनीमै पुनःस्थापित गर्ने प्रतिबद्धता जनाए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *