केपी ओली

काठमाडौँ, ३ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा आफ्नो फेसबुक पेजमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

अध्यक्ष ओलीले ३३ वर्षअघि चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनालाई ‘रहस्यमय घटना’ को रूपमा स्मरण गर्दै उक्त दिन नेपाली राजनीतिले दुई महत्त्वपूर्ण नेता गुमाएको उल्लेख गरेका छन्। फेसबुक पोस्टमा उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइको स्मृति झन् गाढा हुने र अभावहरू झन् गहिरिने अनुभव साझा गरेका छन्।

मदन भण्डारीसँगको आफ्नो कार्यगत र व्यक्तिगत सम्बन्धलाई स्मरण गर्दै ओलीले लेखेका छन्, ‘जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा– सबै हुनुहुन्थ्यो।’ त्यस्तै जीवराज आश्रितलाई उनले एक ‘कुशल सङ्गठक’ का रूपमा चित्रण गरेका छन्। मदन भण्डारीको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेका पुराना दिनहरू आफूले आज विशेष रूपमा सम्झिरहेको ओलीले उल्लेख गरेका छन्।

नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिन मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ ९जबज० को विरासतबारे चर्चा गर्दै ओलीले यसलाई सामयिक र मौलिक परिष्कार दिने विचारका रूपमा व्याख्या गरेका छन्। ‘जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो,’ ओलीले आफ्नो पोस्टमा लेखेका छन्।

उक्त वैचारिक मार्गचित्रकै जगमा आफूहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियान अघि बढाएको र पछिल्लो दशकमा त्यस अभियानले मानवीय तथा भौतिक पूर्वाधारको विकासमा परिवर्तन ल्याउन थालेको दाबी समेत उनले गरेका छन्।

मदन भण्डारी र जीवराज आश्रितसहित आन्दोलनका थुप्रै अग्रज तथा योद्धाहरू आज शारीरिक रूपमा साथमा नभए पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा ‘दीपस्तम्भझैँ’ मार्गदर्शक रहेको ओलीले बताएका छन्। मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभई एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने भन्दै उनले जबजको वैचारिक विरासतले आफूहरूलाई विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो रहन नदिन निरन्तर प्रेरित गरिरहेको उल्लेख गरेका छन्।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान १’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *