काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि आज (सोमबार) पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्दैछन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबीच पूर्व प्रप्रधानमन्त्री डा.बाबुराम भट्टराई उक्त छलफलमा सहभागी नहुने भएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका डा.भट्टराईले आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत आफू छलफलमा सहभागी हुन नसक्ने जानकारी गराउँदै केही सुझाव भने दिएका छन् । भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै चीन भ्रमणका क्रममा यो कुरा ख्याल राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

यस्तै उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्ति चीन र भारतबीचमा रहेको देश नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

डा.भट्टराईले हाम्रो कमजोर अर्थतन्त्रलाई कमभन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पुँजी, प्रविधि, ज्ञान र सद्भाव आवश्यक रहेको उल्लेख गर्दै चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड पनि दिएका छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणका लागि प्रस्थान गर्दैछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *