काठमाडौँ, ३० मंसिर—नेकपा (एकीकृत समाजवादी) मा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका छन् ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि शीर्ष तहमा धेरैपटक छलफल भइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आआफ्नो टीममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गरेका थिए । महासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यवहारिक रुपमा सम्भव नभएको उल्लेख छ । ‘सैद्धान्तिकरुपमा वाम एकता आजको आवश्यकता हो तर व्यवहारिकरुपमा अहिले त्यो सम्भव छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, माग र स्वरुपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिष्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।’

भूसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने जनाउँदै एमाले–माओवादी एकताको उदाहरण दिएका छन् । ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदोरहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादीका बीचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’

एमालेबाट विभाजन भएपछि पार्टीमा व्याप्त निराशाका कारण कहिले माओवादी र एमालेसँग नजिक हुन खोज्दा समस्या आएको निष्कर्ष निकालिएको छ । ‘निराशा, हताशा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन् । जसले गर्दा कतिपयमा एमालेसँग सामिप्य खोज्ने, अरु कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन ।’

प्रतिवेदनमाथि बोल्ने क्रममा नेताहरुले माओवादीसँग एकता गर्दा पार्टी विलय हुने बताएका हुन् । माओवादीसँग एकताका नाममा संगठन कमजोर हुँदै गएको उनीहरुको भनाइ छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले एकीकृत समाजवादीसँग एकताका लागि थप प्रगति नभएको बताए । ‘एकताका लागि उल्लेखनीय प्रगति केही भएको छैन,’ उनले भने ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलको गठबन्धन सरकार भएकै बेला माओवादी अध्यक्ष दाहालको जोडबलमा समाजवादी मोर्चा गठन भएको थियो । गठबन्धनमा आफू बलियो हुन दाहालले माओवादी, एकीकृत समाजवादी र जसपा नेपालसहितको मोर्चा बनाएका थिए । एकीकृत समाजवादीसँग भने एकताको प्रक्रिया अघि बढाइएको थियो । त्यो गठबन्धन ढलेपछि पार्टी एकताका विषयमा छलफल नै भएको छैन ।

महासचिव भूसालले गठबन्धन गरेर निर्वाचनमा जानु पनि घातक रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘२०८३ र २०८४ सालका निर्वाचनहरु हाम्रा लागि महत्वपूर्ण छन् । ती निर्वाचनहरु पनि आन्दोलनको कार्यक्रमभित्रै राखेर हामी अगाडि बढ्नु पर्छ । अब फेरि गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा हामीले सोच्नै सक्दैनौं,’ प्रतिवेदनमा लेखिएको छ, ‘एक त हामी आफैले गठबन्धनका दुष्परिणाम भोगिसकेका छौं, दोस्रो, गठबन्धनका कारणले नेपालको राजनीति नै बदनाम हुँदै गएको छ । गठबन्धनले क्रान्तिकारी पार्टीहरुलाई वैचारिकरुपले नै भुत्ते बनाउँछ ।’

२०७८ भदौमा नेकपा एमालेबाट विभाजन भएर नेकपा एसको गठन भएको थियो । गत आमनिर्वाचनमा कांग्रेस, माओवादीसँग गठबन्धन गरे पनि राष्ट्रिय बन्न सकेन । नेकपा एसको प्रतिनिधिसभामा १० सिट रहेको छ । अघिल्लो माओवादी अध्यक्ष दाहाल सरकारमा सहभागी भएको थियो ।

कांग्रेस र माओवादीले आफूलाई उपयोग गरेको निष्कर्ष नेकपा एसले निकालेको छ ।

‘अब नेकपा एकीकृत समाजवादी ठोस् राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक कुनै पनि गठबन्धन गर्दैन भन्ने कुरामा आफै पनि स्पष्ट हुनुपर्ने,’ प्रतिवेदनको ठहर छ, ‘गठबन्धनका दलहरुले पनि सकेसम्म हामीलाई उपयोग गर्ने काम गरे ।’

सैद्धान्तिक र वैचारिक आधारमा भन्दा सत्तास्वार्थलाई ध्यान दिंदा विगतको पार्टी एकता असफल भएको भन्दै स्थायी समिति सदस्यले प्रतिवेदनलाई समर्थन गरेका छन् ।

‘एमाले र नेकपा माओवादी एकठाउँमा आउनु, संसदमा झण्डै दुई तिहाई सिट आउनु, पार्टी एकता हुनु र त्यस पार्टीले समाजवादी कार्यदिशा समात्नुले कम्युनिष्ट आन्दोलनमा असाधारण सम्भावना अगाडि ल्याएका थिए,’ प्रतिवेदन भन्छ, ‘तर कम्युनिष्ट आन्दोलनको भविष्यभन्दा ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएर गरिएको पार्टी एकताले परिणाम दिएन ।’ २०७४ मा पार्टी एकता गरेको साढे तीन वर्ष पूरा नहुँदै नेकपा विभाजन भएको थियो ।

नेकपा एसका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले स्थायी कमिटीमा बोल्ने नेताहरुले महासचिवको प्रतिवेदनमाथि सुझाव दिंदै माओवादीलगायत कुनै दलसँग एकता गर्नु उचित नभएको धारणा राखेको जानकारी दिए । ‘कांग्रेस, एमाले र माओवादीसँग सहकार्य गर्दै आयौ । राष्ट्रिय पार्टी बन्न सकेन,’ उनले भने, ‘अब माओवादीलगायत दलसँग पार्टी एकता होइन, आफ्नो खुट्टामा उभिएर अघि जानुपर्छ,’ उनले भने, ‘माओवादीसँग एकताबाट धेरै पर पुगिसकेका छौं । अब आफ्नो पार्टी बलियो बनाउने ध्यान छ । त्यसपछि मात्र पार्टी एकताको कुरा हुन्छ ।’

स्थायी कमिटी सदस्य नेता विजय पौडेलले नेताको स्वार्थका लागि हुने पार्टी एकता लामो समय नटिक्ने भएकाले नेताहरुले जनता केन्द्रित कार्यक्रम बनाउनु पर्ने धारणा आएको बताए ।

‘नेताको सत्ता स्वार्थका कारण एकता गर्दा पार्टी बन्दैन । त्यसका लागि जनतासँग जोडिने कार्यक्रम बनाउन सबैको जोड छ,’ उनले भने ।

बैठकमा स्थायी कमिटी सदस्यहरु जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश बिक, माधव पौडेल, गरिमा शाह, कल्याणी खडका, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बास्कोट, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, श्रीप्रसाद साह र भरत श्रेष्ठले संसद् र सडकबाट जनतासँग जोडिएका आन्दोलनमा जानु उचित हुने बताएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *