दमक, ३० मंसिर । झापाको दमकमा आज किराँत राई समुदायले उधौली पर्व मनाएका छन् ।

किराँत राई यायोख्या दमक नगर समितिले दमक १ बुद्ध चौकस्थित साकेला थान (माङखिम) परिसरमा उधौली पर्व मनाएका हुन् । उधौली पर्वको अवसरमा माङखिम परिसरमा युवा युवतीहरुले साकेला शिलि प्रस्तुत गरेका थिए ।

त्यसैबीच, यायोख्या दमक नगर समितिले उधौली कार्यक्रममा आगान्तुकहरुलाई नयाँ अन्नबाट बनाइएका विभिन्न परिकार बितरण गरिएको थियो ।

यायोख्या दमक नगर समितिका अध्यक्ष बासुदेब राईको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुमित्रा बाङदेल चेली, दमकका राई समुदायका अगुवा जीतेन राई, यायोख्या दमक नगर समितिका उपाध्यक्ष धनजीत राई, एम.एस साङपाङ राई सोना राई, अमला चाम्लिङ राई लगायतका व्याक्तित्वहरुको उपस्थिती थियो ।

कार्यक्रमको सञ्चालन समितिका सचिव बीरेन राईले गरेका थिए ।

अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाइदैं आइरहेका छन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *