काठमाडौं, १ पुष–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकले यस्तो निष्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले राष्ट्रिय एजेण्डाहरुमा सहकार्यको सम्भावना सधैं जीवित रहे पनि पार्टी एकताको सम्भावना नरेहको बताएका छन्। उनले बैठक अगामी निर्वाचनहरुमा नेकपा (एकीकृत समाजवादी) लाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताए ।
उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक आज पाँचौँ दिन पनि छलफलमै छ । हामीले समसामयिक राजनीतिक विषय र पार्टी सुदृढिकरणका लागि अगामी कार्ययोजनाको विषयमा छलफल गरेका छौं । अब जनताको जनजीविकार मागहरुसँग जनतालाई जोडेर घरघरबाट जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ भन्ने दिशामा हाम्रो निर्णय केन्द्रित छ । त्यही अनुरुपको निर्णय भोलि सार्वजनिक गर्नेछौं ।’
उनले भने, ‘त्यसैगरी अगामि निर्वाचनहरुमा नेकपा एकीकृत समाजवादीलाई सशक्त प्रतिष्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभर स्थापित गर्नेबारे छलफल केन्द्रित छ । यसबारे पनि निर्णय भोलि नै आउने छ । हालको अवस्थामा अन्य कुनैपनि कम्युनिष्ट पार्टीहरुसँग एकिकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैं जीवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न तयार छौं । तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ ।’

