धरमपुर, १ पुष–झापाको धरमप्ुरस्थित सयपत्री चौकमा किराँत राई समुदायले आईतबार उधौली पर्व धुमधामका साथ मनाएका छन् । किराँत राई यायोख्या शिबसताक्षी–२ वडा समितिले सयपत्री चौकमा अवस्थित साकेला थानमा उधौली पर्व मनाएको हो ।
सो कार्यक्रममा उधौली पर्वको शुभकामना आदानप्रदानसहित जेष्ठ नागरिक सम्मान, साकेला शिली (नृत्य), मनोरञ्जनात्मक खेल–तामासाहरु प्रस्तुत गरिएको थियो ।
किराँत राई यायोख्या वडा समितिका अध्यक्ष दिपेश लोहोरुङ राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा वडाभित्र बसोबास गर्ने ७५ बर्षदेखि माथीका ३५ जना जेष्ठ आमाबुबाहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मानित जेष्ठ आमाबुबाहरुलाई यायोख्या वडा समितिका अध्यक्ष दिपेश लोहोरुङ राई, यायोख्या शिबसताक्षी नगर समितिका उपाध्यक्ष प्रेम दुमी राई लगायतका व्याक्त्रित्वहरुले दोसोल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए ।
त्यस्तैं, कार्यक्रममा छेलो हान्ने, हाँडिफुटाउने, बम ब्लाष्ट लगायतका खेलहरु आयोजना गरिएको थियो । प्रतियोगित्मक सो खेलका बिजेताहरुलाई यायोख्या वडा समितिले पुरुस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय युवा युवतीहरुले साकेला शिलि प्रस्तुत गरेका थिए । त्यसैबीच, यायोख्या दमक नगर समितिले उधौली कार्यक्रममा आगान्तुकहरुलाई नयाँ अन्नबाट बनाइएका विभिन्न परिकार बितरण गरिएको थियो ।
नयाँ अन्न बाली घरमा भित्र्याएपछि त्यसलाई बिधिपूर्वक इष्टदेब र पितृहरुलाई चढाएर मात्रै खान सुरु गर्ने विशेष दिनलाई किराँत राई समुदायले उधौली पर्वको रुपमा मनाउँदै आइरहेका छन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँदैं आइरहेका छन् ।
