दमक, ६ पुस–झापाको शिबसताक्षी–७ मिलन चौकमा यस वर्ष पनि चासोक तङनाम मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारले पुस १३ गते शनिबार चासोक तङनाम मनाइने भएको हो ।
किराँत याक्थुम (लिम्बू) समुदायले मंसिरे पूर्णिमाको अवसरमा मनाइदैं आएको चासोक तङनामलाई यसवर्ष पनि निरन्तरता दिइएको आज पत्रकार सम्मेलनमा बताइयो । आज (शनिबार) मिलन चौकमा पत्रकार सम्मेलन गरेर चासोक तङनामको तयारी तीब्र बनाइएको मिलन साँस्कृतिक परिवारका अध्यक्ष राज खजुम सुब्बाले जानकारी दिनुभयो ।
कार्यक्रममा पुस १३ गते, शनिबार बिहान नयाँ अन्नपातलाई बिधीपूर्वक पुजा गरिने, चढाइने, नयाँ अन्नबाट तयार पारिएका परिकारहरु प्रसादीको रुपमा खुवाइने आयोजक संस्था मिलन साँस्कृतिक परिवारका अध्यक्ष खजुमले बताउनुभयो ।
चासोक तङनाम कार्यक्रममा मुन्धुम गायक शाहिल लिम्बू, निरन्ता नेम्बाङ, रबिना आङ्दम्बे आउने भएका छन् । उनीहरुले कार्यक्रममा आ–आफ्नो साँगीतिक प्रस्तुतीहरु प्रस्तुत गर्ने कार्यक्रम संयोजक नबीन इजमले जानकारी दिनुभयो । इजमका अनुसार कार्यक्रम सम्पन्न गर्न अनुमानित ५ लाख खर्च हुने र त्यसका लागि मिलन साँस्कृतिक परिवार, स्थानीयवासीहरु, विभिन्न मुलुकहरुमा रोजगारका लागि रहेका युवाहरु, व्यापार, व्यवसायी, सहयोगी दाताहरुबाट सङ्कलित रुपैयाँले चासोक तङनाम मनाइने छ ।
कार्यक्रममा मनोरञ्जनात्मक गीतसंगीतसंगै किराँत लिम्बू जातिको मौलिक भेषभूषासहितको हाक्पारे, केलाङ, धान नाच प्रस्तुत हुने भएको छ । त्यस्तैं, सोही अवसरमा छेलो हान्ने, धनु काणँ हान्ने लगायतका खेलहरु समेत हुने भएको छ ।
कार्यक्रमको उद्घाटनका लागि नगर प्रमुख रोशन थोप्रा आउने र उपप्रमुख नरमाया कार्कीसहित नगरको ११ वटै वडाका अध्यक्षहरु, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र कलाकारहरुको उपस्थिती हुने सन्तोष थेगिमले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सभ्य र भब्य बनाउन मिलन साँस्कृतिक परिवारले विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी प्रदान गरेको छ ।
चासोक तङनामलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आउनुहुने युवा व्याक्तित्व सुरेन सम्बाहाम्फेले यस वर्ष प्रत्यक्ष रुपमा आफु सहभागिता हुने कार्यक्रमलाई व्यवस्थित गर्न लागि परेको बताउनुभयो । आर्थिक संयोजक समेत रहनुभएका सम्बाहाम्फेले स्वदेश र बिदेशमा बसोबास गर्ने युवाहरुबाट आर्थिक सहयोग सङ्कलन भइरहेको बताउनुभयो ।
