बिर्तामोड, ९ पुस–नेपाल पत्रकार महासंघ झापा शाखाको पद हस्तान्तरण भएको छ । आज (मंगलबार) बिर्तामोडमा २६औं स्थापना दिवस, सञ्चारकर्मी डायरी विमोचन साथै १४औं पद हस्तान्तरण समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक शिरो सान्दाई खतिवडा, निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, निर्वाचन अधिकृत लक्ष्मी खनाल कोइरालाले निर्वाचित महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पदहस्तान्तरणसँगै प्रमाणपत्र वितरण गरेका थिए । गत मंसीर २८ गते भएको महासंघको निर्वाचनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः एकराज गिरीकै नेतृत्वमा निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

महासंघको अघिल्लो कार्यकालमा उत्कृष्ट शाखा बनाउन प्राविधिक सहयोग गर्ने सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया र महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो । सोही समारोहकाबिच झापाका सञ्चारकर्मीको डायरी बिमोचन गरिएको छ । महासंघका झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रममा प्रमुख अतिथि चन्द्र भण्डारी, गोविन्दचन्द क्षेत्री, गणेश पोखरेल, अम्बिका भण्डारी, बिमल लामिछाने, दिपिन राई, राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदीप परियार, शम्भु दाहाल, लिला अनमोललगायतले आ–आफ्नो भनाई राख्दै नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सचिव बराबरी मत प्राप्त गर्ने राजु पाठक र प्रदीप परियारका बिच निर्वाचन समितिले गोलाप्रथा गरेको थियो । गोलाप्रथाबाट पहिलो आधा कार्यकाल राजु पाठक र दोस्रो आधा कार्यकाल प्रदीप परियार रहने भएका छन् । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *