कनकाई, ११ पुस–झापाको शिबसताक्षी–९ धार्मीक तथा पर्यटकीयस्थल चिल्लागढधाममा बुधबार कोशी प्रदेश भरीका धामीझाँक्रीहरु भेला भएका थिए ।
गुरु पुजाको अवसर पारेर तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेश तथा भगवती माता महारानी मन्दिर समितिद्वारा आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा, चिल्लागढको चिनारी, माता महारानी तुलसादेवी कार्कीको जीवनी र उपचारपद्दति नामक पुस्तक लोकार्पण कार्यक्रममा कोशी प्रदेशभरीका धामीझाँक्रीहरु भेला भएका हुन् ।
चिल्लागढमाआयोजित कार्यक्रमलाई नगर प्रमुख रोशन थोप्राले सम्बोधन गर्नुभयो । नगर प्रमुख थोप्प्राले धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण प्रवधन प्रचारप्रसार एवम् धामीझाँक्रीहरुकोसमेत संरक्षणमा स्थानीय सरकार लागिपर्ने प्रतिवद्वता जनाउनुभयो।
तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्त्वमा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, उदयपुर ,धनकुटा लगायत जिल्लाका माता (झाँक्रेनी) तथा धामी (झाँक्री) गरी २०० बढीको धामीझाँक्रीहरुको सहभागीता थियो।
कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष भेट्वालले समाज टुट्न होईन समाज जुट्नु पनि हो भन्दै धामीझाँक्रीहरुको सन्देश धार्मिक तथा पर्यटकियस्थलको प्रचारप्रसार गर्नु र पर्यटनहरु भित्र्याउनु पनि आफुहरुको मुख्य उश्येय रहेको बताउनुभएको थियो ।
चिल्लागढको चिनारी एवम् माता तुलसादेवी कार्कीको जिवनी र उपचार पद्धतिको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका खोज अनुसन्धान कर्ता तथा लेखक तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष भेट्वालले आफुसहित चन्द्रमणि रिमाल, डिल्लीराम बास्कोटासहित विभिन्न व्यक्तिहरुको अथक मेहनत र मातासंगको डेड वर्षभन्दा धेरैको संङ्गत खोज अनुसन्धानबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा शिबसताक्षी ९ का अध्यक्ष डिल्ली फ्याम्वु, माता तुलसादेवी कार्की, चिल्लागढधाम व्यवस्थापन समिति अध्यक्ष शिशिर तुम्बापो, धाम परिषरमा रहेका विभिन्न मन्दिरका अध्यक्षहरु दिननाथ खतिवडा, झलकसिंह अधिकारी ,गङ्गाराम न्यौपाने, मेधनी दङ्गाल, जयनारायण पौडेल लगायत दर्जनबढी प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटनसत्रको स्वागत मन्तव्य झाँक्री डिल्लीराम बास्कोटाले गर्नुभएको थियोे भने संचालन आयोजक समितिका सचिव डिकबहादुर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा उद्घाटनबीच ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रो बजाउँदै चिल्लागढधाममा धामीझाँक्रीहरुको र्याली निकालेका थिए । लामो समयदेखि गुप्तवास बसेका धामीझाँक्री मंसिर महिनाको पूर्णिमा अर्थात् गुरुपूर्णिमाको अवसर पारेर धार्मिकस्थल चिल्लागढमा पूजाआजा गरेर बिद्धे प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालले जानकारी दिनुभयो ।
लामोसमय सम्म गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवताका साथमा उधौलीको अवसर पारी गुरुपुजा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर आफ्ना गुरु तथा देवीदेवताका मान्ने चलन मान्यता छ ।
