झिलझिले, १९ पुस–बिगतका वर्षहरुझैं यस वर्ष पनि आठौं संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया, गनगाइ, माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।
२०७४ सालदेखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया, ठाकुर, गनगाइ, माझी समुदायको संस्कार–संस्कृति तथा मौलिक परिकारहरुको सम्बर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमानै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो ।
झापा, मोरङ, सुनसरी र संघीय राजधानी काठमाडौंको विभिन्न स्थानमा एकसाथ विभिन्न कार्यक्रम गरि भाक्का दिवस भव्यताको साथ मनाउने गरिएको छ ।
सुरुवातदेखिनै भाक्का दिवसलाई भव्य बनाउन देश तथा विदेशका कलाकार, अतिथि एवं नेपालीहरुले साथ दिएको पाइन्छ । सदाझै यस वर्ष पनि राजवंशी समाज विकास समितिले झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आठौं संस्करणको भाक्का दिवस आयोजना गर्दैछ ।
राजवंशी समाज विकास समितीका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार, यस वर्ष कार्यक्रममा नेपाली राष्ट्रिय कृकेट टोलिका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
साथै, कार्यक्रममा नेपालको लोकप्रिय गायिका रचना रिमाल, भारतीय कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । व्यवसायिक सेफहरुद्वारा भाक्का माछासंगै विभिन्न परिकारहरुको निशुल्क वितरण, राजवंशी संस्कृतीसंग सम्बन्धित लोक गरगहना, पहिरन तथा लोकबाजाको प्रदर्शनी रहने कार्यक्रममा हजारौं भारतीय पहुना सहित पचास हजारबढि मानिसहरुको सहभागिता रहने र कार्यक्रममा तीस हजारबढि मानिसहरुले भाक्का खाने आकलन आयोजकले गरेको छ।
पुर्वी तराईका आदिवासी राजवंशी समुदायमा जाडो छल्न छोरीचेलीहरुलाई घरमा बोलाएर र अरु पाहुनालाईसमेत भाक्कासंगै ब्वाली माछा ख्वाउने प्रचलन परापुर्वकालदेखिनै रहेता पनि पछिल्लो केही दशकदेखि जाडोयाममा भाक्का हरेक शहर अनि गल्लीको व्यवसायिक परिकार बनेको छ ।
विषेशगरि जाडो मौसममा खाइने भाक्का, सबैले खाने र सबै उमेर समुहले मन पराउने परिकार हो । राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई पछिल्ला दिनहरुमा ठुला तारे होटलहरुको मेन्युमासमेत समाविष्ट गरिएको छ ।
