पाँचथर (फिदीम), ७ माघ–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को अध्यक्षमा पाँचथरका पत्रकार बिजयबोध लावती चयन भएका छन् ।
आज (सोमबार) पाँचथरको फिदीममा सम्पन्न तेश्रो प्रादेशिक महाधिबेशनले लावतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा खनेन्द्र कुमार राई (अर्जुन), सुप्रिया राई, महासचिवमा लिलाबहादुर सुनवार, सचिवद्धयमा रामचन्द्र बमजन, दिलबहादुर राई र कोषाध्यक्षमा सन्दिप राई चयन भएका छन् ।
फोनिज प्रदेश–१ समितिको खुला सदस्यहरुमा अरुणकुमार राई, अजयसन्तोषी राई, कृष्ण फुरुम्बो लिम्बू र मौसम सम्वाहाम्फे चयन भएका छन् ।
महिला सदस्यहरु रमिला दनुवार, मेनुका बमजन र निशा राईलाई चयन गरिएको छ भने संस्थागत सदस्य अमित तामाङ, जयराम पूर्वाछाने, श्रवण चौधरी, निश्चल राजभण्डारी र अल्पसंख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन भएका छन् ।
नेतृत्व चयन गर्न अग्रज पत्रकार दिपीन राईको संयोजकत्वमा अधिवक्ता सन्तकुमार राई र निलिफा सुब्वा रहेको निर्वाचन समिति गठन गरिएको थियो । यसैगरि, लेखा समितिको संयोजकमा प्रेम देवान र सदस्यमा अनिलदेब राई निर्विरोध चुनिए ।
फोनिज प्रदेश नेतृत्वमा लावतीसहित उदयपुरका राजेन्द्र राई ‘दुष्ट’, धनकुटाकी बिनु चेम्जोङ र इलामका राम योङ्हाङ आकांक्षी थिए ।
१४ वटै जिल्लाबाट करिब दुई सय भन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरुको सहभागिता रहेको थियो ।
पाँच जना अग्रज सम्मानित
फोनिज प्रदेश समितिले पाँच जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । फोनिजको एक नम्बर प्रदेश समितिको आईतवार पाँचथरको फिदीमममा भएको तेश्रो प्रादेशिक महाअधिबेशन उद्घाटनमा पाँच जना अग्रजहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा फोनिजका संस्थापक सदस्य दिलेन्द्र कुरुम्बाङ, पूर्व संघीय उपाध्यक्षद्वय भैरव आङला र दिपीन राई, एक नम्बर प्रदेशका पूर्व प्रदेश अध्यक्ष तथा हाल संघीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई र प्रदेश सल्लाहकार निलिफा सुब्बा छन् । त्यस्तै फोनिजलाई सहयोग गर्ने बुद्धभूषण योञ्जनसमेत सम्मानित भएका छन् ।
फिदिमको जिल्ला समन्वय समितिको सभाहलमा महाधिवेशनको प्रदेशसभा सदस्य कमलप्रसाद जबेगूले उद्घाटन गरेका थिए ।
महाधिवेशनको सन्दर्भ पारेर फोनिज प्रदेश–१ को मुखपत्र ‘अग्रगामी कदम’को विमोचनसमेत गरिएको छ ।

