काठमाडौं, १० माघ–नेपाली गीत–संगीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार जमलस्थित सांस्कृतिक संस्थानमा तारादेवी स्मृति फाउन्डेसनद्वारा उनको १९औं स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो ।

फाउन्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था (फाउन्डेसन) स्थापना गरिएको बताए । उनले भने, ‘फाउन्डेसनमार्फत आमा (तारादेवी) को स्मृति दिवसमा गरिने कार्यक्रमले संगीतकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सम्मान गर्ने गरेका छौँ । उहाँको सपनालाई पूरा गर्न फाउन्डेसनले निरन्तर कामहरू गरिरहेको छ।’

सो अवसरमा गीतकार तथा संगीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो । आठ वर्षको उमेरदेखि नै गाउन थालेकी गायिका तारादेवीले स्वर दिएको ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’ लगायतका गीतहरू अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् ।

तारादेवीले आठ वर्षको उमेरदेखि नै गाउन थालेकी थिइन् । उनले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र संगीतकार नातिकाजीलगायत व्यक्तित्वहरुको संगीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार गीत गाएकी छन्।

गायिका तारादेवीको २०६२ सालमा निधन भएपछि उनको सांगीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले ‘तारादेवी स्मृति फाउन्डेसन’ को स्थापना गरिएको आयोजित कार्यक्रममा जानकारी गराइयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *