भद्रपुर, २८ माघ–हात्ती प्रभावित जिल्लाको पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छेबीचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ ।

डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै हात्तीको आक्रमणबाट ३ जना झापालीले ज्यान गुमाइसकेका छन् । यसरी ज्यान गुमाउनेमा हल्दिवारी ३ का ७२ वर्षीय ओङ्दी गुरुङ, दमक ३ का ४५ वर्षीय मिनबहादुर भण्डारी र कचनकवल ७ की केलावती राजवंशी रहेका छन । यी तिनै जनाले कामको शिलशीलामा हात्तीसित आकस्मिक रूपमा भेटघाट हुँदा भाग्ने मौका समेत नपाएर ज्यान गुमाएका हुन् ।

मानव—हात्ती द्वन्द्वका क्रममा झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ७१ जना मानिस र २१ वटा हात्तीको मृत्यु भइसकेको छ । वि। सं। २०६७ सालदेखि २०८१ माघ महिनासम्म झापामा हात्ती आक्रमणमा परेर ७१ जना मानिसले ज्यान गुमाएका हुन् भने यस अवधिमा २१ वटा हात्तीको समेत मृत्यु भएको देखिन्छ । झापामा हात्तीका कारण मृत्यु भएका मानिसमध्ये ८ जना गैरनेपाली रहेका छन् ।

वर्तमान वन्यजन्तु क्षति न्युनीकरण नियमावलीअनुसार मृतक नेपालीका आफन्तले पाउने राहत रकम प्रतिव्यक्ति १० लाख रुपैयाँ प्राप्त गर्ने प्रावधान रहेको छ । सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको देखिन्छ । तर, सरकारी राहत रकम समयानुकुल उचित नभएको पीडित परिवारले दुखेसो गर्ने गरेका छन् ।

हात्तीका कारण झापामा अन्न बाली, धनसम्पत्तिमा समेत हरेक वर्ष क्षति बढ्दै गएकोे डिभिजन वन कार्यालय झापाको तथ्यांकले देखाउने गरेको छ । धनजनको क्षतिपूर्ति वापत २०८० साल देखि २०८१ माघसम्म नेपाल सरकारको वन मन्त्रालयबाट मात्र ३३ जना पीडितलाई ५२ लाख ९९ हजार ९ सय २८ रुपैयाँ वितरण गरिसकिएको छ ।

जसमा ४ जना मृतकको आफन्तलाई प्रतिव्यक्ति १० लाखका दरले ४० लनख, १० जना हात्तीको आक्रमणबाट घाईते भएकालाई एकमुष्ट ११ लाख १८ हजार ६ सय २८, अन्नबाली क्षति बापत १ लाख ७१ हजार ३ सय र पशुधन क्षतिबापत १० हजार रुपैयाँ दिएको डिभिजन वन कार्यालयको विवरणमा उल्लेख छ ।

यसैगरी वन निर्देशनालयबाट २ जना मृतकलाई २० लाख रुपैयाँ र अन्य क्षतिपूर्ति बापत ३४ जनालाई ७ लाख ८ हजार ५ सय रुपैया राहत वापत प्रदान गरिएको जनाइएको छ । त्यसैगरी यसै आर्थिक वर्षको ६ महिनामा डिभिजन वन कार्यलय बाट ६९ लाख, ९३ हजार ५ सय ६५ रुपैया राहत वितरण गरेको कार्यलय प्रमुख मेघराज राईको भनाइ छ ।

सो रकम २ जना घाइतेलाई २ लाख ६१ हजार १ सय २० रुपैयाँ , १ सय ४८ जनाको घरगोठ क्षतिको निवेदनका आधारमा २३ लाख रुपैया, १ सय २७ जनाएको भण्डारण अन्नको क्षति वापत ९ लाख ७९ हजार ४५ रुपैया र ३७१ जनाको अन्नबाली क्षतिपूर्ति वापत ३४ लाख ५३ हजार ४ सय रूपैयाँ वितरण गरेको कार्यालयको विवरणले देखाउँछ ।

पीडितलाई क्षतिपूर्तिका लागि राहत रकम वितरण गर्ने गरे पनि हरेक वर्ष हात्तीबाट हुने क्षति घट्न सकेको छैन भने क्षति न्युनिकरणका लागि दीर्घकालीन योजना समेत आउन सकेको छैन । हात्तीले जंगलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा समेत उनीहरूलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणमा देखिने गरेको छ ।

कार्यालय प्रमुख राईले डिभिजन वन कार्यलय झापाले जिल्लामा हात्ती प्रभावित क्षेत्रमा हात्तीलाई जंगलमै रोक्नका लागि पोखरी निर्माण, खानाका लागि विभिन्न प्रजातिका विरुवा तथा फलफूल लगाउने कार्य गरिरहेको छ भने हात्ती भगाउन र्यापिडरेस्पोन्स टिम ६ वटा लाई तालिम दिई सहयोग पुर्याउने कार्य गरेको बताए । उनका अनुसार २०७५ सालसम्ममा जिल्लामा १० वटा हात्ती रहेकोमा हाल ३० वटाभन्दा बढी संख्यामा रहेको बताए ।

हात्तीले बसोवासका लागि उपयोग गरिरहेको वन मध्ये झापामा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन ९११३ दशमलव ६ हेक्टर०, ४३७ वटा निजी वन ९४१२ दशमलव ०८ हेक्टर०, रतुवामाइ वृक्षरोपण आयोजना ९२ हजार ८५३०, एग्रो फरेष्ट्री प्रमोसन ९९८ दशमलव ६० र स्काउट वन ९१५ हेक्टर० रहेको कार्यालयले जनाएको छ ।

हात्ती र मानव बिचको द्वन्द्व रोक्न हात्तीमैत्री वातावण निर्माणका लागि वन तथा वातावरण सम्बद्ध संस्था लागिरहेका भए पनि झापामा पछिल्लो समय हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि प्रभावित क्षेत्रबाट बसाइ सर्नेको संख्या समेत बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएको भन्दै दक्षिणी ग्रामीण झापाली घना बस्ती भएका बजारतिर बसाइ सर्न थालेका छन् ।

जंगल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइ दिने तथा बोट विरुवा र जनवारमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि हात्ती नियन्त्रण गर्न स्थानीय जाग्राम बस्नु पर्ने बाध्यतामा छन् । यस बाध्यता रोक्न प्रकृति संरक्षण कोष मार्फत प्रभावितलाई राहत दिने गरिएको भए पनि क्षतिको तुलनामा राहत निकै कम रहेको पीडितको गुनासो छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क भने सरकारसित उपलब्ध छैन ।

१५ वटा झापाका स्थानीय तहहरू मध्ये झापा गाउपालिका र गौरादह बाहेक १३ वटा पालिकामा हात्ती आक्रमण बढ्दो रूपमा देखिएको छ । जङ्गली बासस्थान र आहारको प्राकृतिक स्रोत मासिदै गएपछि हात्तीहरू मान्छे रहेको बस्ती र खेतबारीमा पस्न थालेका छन् भने आफ्नो आवास र उत्पादनमाथि खतरा बढ्न थालेपछि मान्छेले पनि हात्तीलाई मार्नेसम्मको गतिविधि गरिरहेको अवस्था छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *