दमक, २९ माघ–कमल नगर आधारभूत अस्पतालले फागुन १ गते विहिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
कमल नगर आधारभूत अस्पताल स्थापनाको पहिलो वर्ष पूरा भई दोश्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने वृहत तथा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
कमल–२ क्याम्पास्थित कमल नगर आधारभूत अस्पतालमा सञ्चालन हुने शिविर विहान १० वजेदेखि शुरु भई दिउँसो ४ वजेसम्म चल्ने अस्पतालका प्रमुख दिपकप्रसाद दाहालले बताउनुभयो ।
सो स्वास्थ्य शिविरमा विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, दमकको विर्ताज्योति आँखा अस्पताल र आमा डेन्टलको प्राविधिक सहयोग रहने छ ।
अस्पतालका प्रमुख दिपकप्रसाद दाहालका अनुसार विराट टिचिङ हस्पिटलले मासिक रुपमा मानसिक रोग सम्बन्धी सेवा र आमा डेन्टलले चिकित्सकीय सेवा उपलव्ध गराउदै आएको छ ।
निशुल्क शिविरको सवै तयारी अन्तिम चरणमा रहेको अस्पतालले जनाएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श, आवश्यक औषधिहरु समेत निशुल्क वितरण गरिने छ ।
निःशुल्क स्वास्थ्य परीक्षण अन्तर्गत उच्च रक्तचाप, मधुमेह, दम, छाती, मुटु सम्बन्धी इन्टरनल मेडिसिन सेवा, मानसिक रोग, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बालरोग, आँखाको जाँच, दन्त जाँच सेवा उपलव्ध रहने उनले बताएका छन् ।
निशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरुद्धारा स्वास्थ्य जीवनशैलीका लागि अपनाउनु पर्ने खानपान,आहारविहारका बारेमा समेत जानकारी प्रदान गर्ने छन् ।
