काठमाडौं, १० फागुन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा केहीबेरअघि शुरु भएको हो।
आज (शनिबार) को बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष माधव नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने र निष्कर्ष निकालिने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। यस्तै, पार्टीको आगामी कार्यादेश तय गर्दै सम्भवतस् बैठक आजै सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।
यसअघि शुक्रबार बसेको बैठकले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको थियो। अध्यक्ष नेपालले प्रस्तुत गरेकोे राजनीतिक प्रतिवेदनमा पार्टी समाजवादी विचार र लक्ष्यमा प्रष्ट रहेकाले एमाले, माओवादीलगायत राजनीतिक दलसँग तत्काल एकीकरणको कुनै सम्भावना नरहेको उल्लेख छ।
बैठकमा महासचिव घनश्याम भुसालले मुलुकको अर्थ राजनीतिक संकट र त्यसको समाधानसम्बन्धी अभियानबारे तालिका प्रस्ताव गरेका थएि। पार्टीका जिल्ला अधिवेशन गर्ने प्रस्तावमा सबै जनसंगठन, विभागसहित अन्य संघ संस्थाहरूबाट आगामी चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव संकलन गर्ने कार्यक्रम छ।
