ताप्लेजुङ, ११ फागुन–ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी २४ जना बढी घाइते भएका छन् । घाइतेमध्येका चार जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ ।

उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिएका छन्। प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन् । उनीहरूमध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । आन्दोलनत समूहतर्फ पनि त्यति नै संख्यामा घाइते रहेको रावलले बताए ।

रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएर पनि उपचार गराइ रहेकाले यकिन तथ्याङ्क नभएको मादेनले बताएका छन् । प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमुलगायत रहेका छन् । तर प्रहरीले नाम भने खुलाएको छैन ।

यता ताप्लेजुङको फुङलिङ बजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, हुलदंगा, झडप र प्रतिकूल स्थितिलाई ध्यान दिँदै आज (फागुन ११ गते) बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बजार क्षेत्रका लागि निषेधाज्ञा जारी गरेका हुन् । जसअनुसार निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको गरिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् ।

आदेश उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । प्रशासनले फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्व–फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म) र उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानीलाई निषेधाज्ञा लगाइएको छ ।

दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल-भेटनरी कञ्चनजंघा टोलसम्म तोकिएको छ । त्यस्तै, काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रलाई पनि निषेधाज्ञा लगाएको छ। पूर्व–पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिम बल्लुडाँडा-डडेले इलाका, उत्तर–केबलकार बेस स्टेसन(पानीको मुहान इलाकाको १०० मिटर, दक्षिण–नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत) लाई आधार मानेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *