काठमाडौं, ११ फागुन–काठमाडौं जिल्ला प्रशासन कार्यालयले शिवरात्रिमा पशुपतिनाथ र आसपास क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ ।

महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने गरी सूचना जारी गरेका हुन् । यस सूचनाको उल्लंघन गरेमा कानुनी कारबाही गर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

आइतबार जारी सूचनामा लेखिएको छ, ‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवम् दिव्य रूपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१/११/१२ गतेदेखि २०८१/११/१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्णरूपमा रोक लगाइएको छ।

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।’ चार किल्लामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भाग तोकिएको छ ।

साधुसन्तलाई आवासीय सुविधा
गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ । यसका लागि सोमबार बिहानदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तको गणना सुरु गर्ने संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।

महाशिवरात्रिमा यहाँ आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि संस्थानले बस्ने, खाने र धुनी जगाउन दाउराको व्यवस्था गर्ने परम्परा छ । यसरी राखिएकालाई संस्थानले फागुन कृष्ण औँसीका दिन स्तरअनुसार दक्षिणासहित बिदाई गर्ने परम्परा पनि छ । महाशिवरात्रिका लागि मित्रराष्ट्र भारतबाट हजारौँ साधुसन्त आउने गरेका छन् ।

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तका लागि बस्ने, खाने र धुनी जगाउन दाउरा दिन फागुन कृष्ण एकादशीका दिन राष्ट्राध्यक्षले संकल्प पूजा गर्ने विधि रहेको छ । सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा सङ्कल्प पूजा गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।

संकल्प पूजामा राडी, कमण्डलु, चमर, खाद्य सामग्रीलगायत साधु सन्तलाई दिइने चीजबीज राखिने संस्थानले जनाएको छ । यस वर्ष भारतको प्रयागराजमा जारी कुम्भ मेलाका कारण त्यता स्नान गरी भक्तजन यता पनि बढी नै आउने अनुमान गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *