बिर्तामोड, १७ फागुन–आगामी चैत्र १६ गतेबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीले तयारी तीव्र बनाएको छ। तेस्रो संस्करणको एनएसएल प्रतियोगिताको उपाधि जित्ने गरी तयारी गरिएको शनिबार झापामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापालाई गौरवान्वित गर्ने हिसाबले अगाडि बढेको बताएका छन्। च्याम्पियन हुने लक्ष्यमा कम्मर कसेर लागेका छौं, एनएसएल जित्ने लक्ष्य प्राप्तिकै निम्ति भारतमा आइलीग खेलिरहेका मिडफिल्डर लाकेन लिम्बुलाई मार्की प्लेयर बनाएका छौं, उनले भने, विगतको खेलको मूल्याङ्कनलाई हेरेर यसपालि तयारी मजबुत पारिएको छ।

झापा एफसीले एनएसएल सिजन ३ का लागि मुख्य प्रशिक्षक प्रवेश कटुवाललाई अस्ट्रेलियाबाट ल्याएको छ। गोलकिपिङ कोच मिन बस्नेत र सहायक प्रशिक्षक कुमार गिरीलाई अनुबन्ध गरिसकेको छ । तिनै जना प्रशिक्षक झापाकै रहेका छन् । झापाली एकतालाई दशरथ रङ्गशालामा प्रदर्शन गर्दै हामी यसपालि एनएसएल च्याम्पियन बन्न चाहन्छौं, खड्काले भने ।

क्लबले अहिलेसम्म मिनि अक्सनबाट आशिष गुरुङ, एन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र बिक, उज्ज्वल राई, अविनाश स्यान्तान र दिपेश धिमाललाई अनुबन्ध गरिसकेको छ ।

कतारमा पुष्प व्यवसायमा संलग्न रहेका खड्काले विगत लामो समयदेखि नेपालको खेल क्षेत्रमा हात हालेका छन्। पत्रकार सम्मेलनमा उनले भने म तन्नेरी उमेरदेखि नै कतारमा परिश्रम गरिरहेको थिएँ। खाडीको चर्को तापक्रम र व्यस्त समयमा पनि मलाई फुटबलमा केही गर्ने सपना कहिल्यै टुटेन ।

केही गरौँ भन्ने हुटहुटी अझै बढी रह्यो। म उता कतार छँदै नेपाली फुटबलको विषय र परिस्थितिको बारेमा मिलनसार केही साथीहरुसँग घन्टौं गफ हुन्थ्यो कसरी विकास गर्ने भनेर मनस्थिति मन्थन हुन्थ्यो तर हामीले केही गर्न सकेका थिएनौ । आज त्यो सपना साकार पार्न झापा एफसीमा आठजना फुटबल क्रेजी जोडिएका छौ‌ ।

यसपटक अक्सनमार्फत झापाली खेलाडी अनुबन्ध गर्न नपाएकोमा उनले दुखेसो पोखेका छन्। झापा एफसीको प्रतिनिधित्व गराउन विदेशका चर्चित क्लबका उत्कृष्ट खेलाडी ल्याउने उनले जानकारी दिएका छन्। उनले भने यसपटक जित्ने गरी तयारी गरिएकाले उत्कृष्ट खेलाडीहरु ल्याइनेछ। केही खेलाडीहरूको अनुबन्ध समेत भइसकेको बताए ।

क्लबलाई एनएसएल सम्पन्न गराउनका लागि करिब २ करोड खर्च लाग्ने उनले जानकारी दिएका छन्। अहिलेसम्म कुनै प्रायोजक नभएको र आफूले नै सो रकम उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन्। खर्चकै कारण आगामी दिनमा पनि झापा एफसीले सहभागी नहुने भन्ने कुरा आउँदैन हामी जसरी पनि खर्च जुटाउने छौं।

उनले झापा एफसीलाई व्यावसायिक क्लबको रूपमा स्थापित गर्नका लागि झापामा ६ बिघा जग्गा खरिद गरेर उत्कृष्ट एकेडेमी र रङ्गशाला निर्माण गर्ने जानकारी दिएका छन्। यो कार्य यसै वर्षबाट सुरु हुने पनि उनले बताएका छन्। उनले एनएसएल सम्पन्न गर्नका लागि सम्पूर्ण झापावासीलाई सहयोगको अपेक्षा गरेका छन्।

खड्काले झापा एफसीको अपनत्व लिन झापावासीलाई आग्रह गरेका छन् । ए डिभिजनको विकेन्द्रीकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एन्ड अवे खेल खेलाउनेगरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, सहारा नेपालका कार्यकारी अधिकृत महेन्द्र गिरी, झापा जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *