दमक, १७ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक वडा नं ७ को ११औं वडा अधिवेशन आज (शनिबार) सम्पन्न भएको छ। सो अधिवेशनबाट पुनःबिक्रम खाम्देन सुब्बाको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा वडा समिति पुनगर्ठन गरिएको छ। खाम्देनको यो दोस्रो कार्यकाल हो ।
राप्रपा दमक ७ वडा समितिका अध्यक्ष बिक्रम खाम्देन लिम्बूको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा दमक नगर प्रमुख समेत रहनुभएका राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियोे ।
स्थानीय पौडेल बन्धु प्रतिष्ठानमा आयोजित अधिवेशनमा राप्रपाको स्थापनाकालदेखि हालसम्म योगदान पुर्याएका ५० भन्दा बढी ज्येष्ठ अभिभावकहरूलाई खादा, माला, अबिरसहित सम्मान गरिएको थियो। साथै, अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गर्दै ६० जनाले पार्टी प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई वडा समिति अध्यक्ष बिक्रम खाम्देन लिम्बूसहित राप्रपा प्रदेश अध्यक्ष तथा दमक नगर प्रमुख रामकुमार थापा, राप्रपाका नेता तथा दमक ७ का वडाध्यक्ष भीम पौडेल लगायतले स्वागत गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि राप्रपा झापा अध्यक्ष केशव ओझा, क्षेत्रीय अध्यक्ष भीमप्रसाद पौडेल, नगर अध्यक्ष हेम सुवेदी लगायतका नेताहरुको उपस्थिति थियो।
समारोहका अध्यक्ष समेत रहनुभएका दमकका युवा नेता तथा निर्माण व्यवसायी बिक्रम खाम्देन लिम्बूले दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नयाँ योजना र लक्ष्यसहित जनताबीचमा आइपुगेको बताउनुभयो । वहाँले नवप्रवेशीहरुलाई स्वागत गर्दै दमकमा राप्रपालाई बलियो र शसक्त बनाउन लाग्न समेत आग्रह गर्नुभयो ।
नेता लिम्बूले राप्रपा राजनीतिक पार्टी मात्रै नभएर अशिक्षा, अभाव, समस्याका बारेमा समेत सर्घष गर्दै दमकको विकास, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा लगायत पार्टीको संगठन सुदृढीकरणका विषयमा खबरदारी गर्दै जनताबीचमा पुग्ने भावी कार्ययोजना तय गरेको बताउनुभयो ।
