काठमाण्डौं, १७ फागुन–नेपाली महिला राष्ट्रिय टिमकी स्टार मिडफिल्डर प्रिति राई वर्षको सर्वोत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी छिन् ।
आव (शनिबार) योङ स्टार फाउण्डेसनले काठमाडौंले आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रिय टिमकी मिडफिल्डर राई वर्षको सर्वोत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी हुन् ।
विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई महिला लिगको च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी राईलाई योङ्ग स्टार फाउण्डेसनले एक लाख रुपैयाँको पुस्कारबाट सम्मान गरेको हो ।
कार्यक्रममा मिडफिल्डर राईले महिला फुटबलमा लगानी बढ्दै गएको र यसले आफूहरूलाई फुटबल खेल्ने ऊर्जा थपिरहेको बताइन् । राईले सबै खेलाडीसँग’विनिङ मेन्टालिटी’ हुनुपर्ने बताइन् ।
‘सबै खेलाडीसँग विनिङ मेन्टालिटी हुनुपर्छ । एकले अर्कोलाई दोष लगाउने होइन, व्यक्तिगत रूपमै ‘विनिङ मेन्टालिटी’ हुन जरुरी छ, उनले भनिन् । राईले धेरैभन्दा धेरै फुटबल प्रतियोगिता खेल्ने वातावरण बनाइदिएको भन्दै एन्फालाई धन्यवाद पनि दिइन् ।
योङ स्टार फाउण्डेसनले नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा यस वर्षदेखि सर्वोत्कृष्ट महिला फुटबल खेलाडी घोषणा गर्दै सम्मान गर्न सुरु गरेको हो ।
फाउण्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा अब प्रत्येक वर्ष फुटबल खेलाडीलाई सम्मान गरिने बताए ।
