बिर्तामोड, १८ फागुन–झापाको बिर्तामोड–४ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव मनाएको छ ।
रजम महोत्सवको अवसरमा संस्थाका संस्थापक अध्यक्ष कमलबहादुर बस्नेत र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले उनीहरुलाई सम्मान गर्नुभयो ।
संस्थाले पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई उपचार गर्ने पस सोसाइटी नेपाललाईसमेत सम्मान गरेको छ । त्यस्तै, संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी ओली, गंगादेवी राई, मञ्जु खत्री र नन्दादेवी बस्नेतलाई सम्मान गरिएको छ ।
राष्ट्रियस्तरको भेट्रान बुद्धिचाल विजेता संस्थाका सञ्चालक समिति सदस्य दिलकेशर थापालाई पनि संस्थाले सम्मान गरेको छ । विभिन्न समयमा भएका फुटसल, हाजिरीजवाफ प्रतियोगितामा विजेता उपविजेतालाई पनि सम्मान गरेको छ ।
त्यस्तै, संस्थाको स्थापनाकाल २०५७ सालदेखि २०५८ सालभित्र सदस्यता लिई हालसम्म निरन्तर उत्कृष्ट कारोबार गर्ने ४८ जना शेयर सदस्यलाई सम्मानका साथै उत्कृष्ट सदस्य परिचयपत्र प्रदान गरिएको कार्यक्रममा संस्थाका तत्कालीन उपाध्यक्ष इश्वरीप्रसाद खरेलको स्मृतिमा पाँच लाख रुपैयाँको कर्णाली अक्षयकोष स्थापनाको घोषणा गरिएको छ ।
संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, सम्मानित व्यक्ति एकराज गिरी, संस्थापक अध्यक्ष कमलबहादुर बस्नेत, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, बचत तथा ऋण सहकारी संघ झापा बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका सचिव भूपाल बस्नेतलले सञ्चालन गर्नुभएको कार्यक्रममा नृत्य लगायतका प्रस्तुति दिएका थिए ।
प्रमुख अतिथि कार्कीले केही सहकारी सञ्चालकको कमजोरीका कारण राम्रा राम्रा कार्य गरिरहेको सहकारी संस्थाको पनि बदनाम हुने गरेको बताउँदै सहकारीबाट लिएको ऋण मिनाहा नहुने बताउनुभयो । उहाँले केही ब्यक्तिको हल्लाको पछाडि लाग्दा ऋण नहुने भएकाले समस्या भए ऋण लिएको सहकारी सञ्चालकसँग बसेर छलफल गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
अक्षयकोषबाट सहकारी तथा सामाजिक अभियन्तालाई सम्मान गरिनेसमेत जानकारी दिइएको छ । त्यसैगरी संस्थाले रजत महोत्सवको अवसरमा कर्णाली रजत जयन्ती २०८१ प्रकाशन गरेर विमोचनसमेत गरेको छ । रजत जयन्तीकै अवसरमा आज रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले ४१ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको सचिव बस्नेतले जानकारी दिए । ५६ हजार ४०९ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ रहेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
