दमक, २१ फागुन–सुखानी सहिद स्मृति दिवसको अवसर पारेर समाजवादी मोर्चा झापाले सुखानी पार्कमा सहिद सप्ताह तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।
‘समाजवादी मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेकपाले आज (बुधबार) बिहान सुखानीस्थित सहिदहरुको शालिकमा माल्ययार्पण तथा श्रद्धाञ्जली सभा गरेको हो ।
सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रूपमा मनाउँदै आएका छन् ।
सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई विसं २०७२ फागुन १९ गते राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
समाजवादी मोर्चामा आवद्ध तीन कम्युनिस्ट घटकले सुखानीमा आयोजित श्रद्धाञ्जली सभामा नेताहरुले सहिदको शालिक तोडफोड गरिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
सो क्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रञ्जित तामाङ, झापा अध्यक्ष राजु आचार्य, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य नीलमणी बराल, भद्रपुर नगरकी पूर्व उपप्रमुख समेत रहनुभएकी केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, झापा अध्यक्ष बेदराज रेग्मी, सचिव बिपी भट्टराई, नेता बासु दुलाल, पशुराम शकंर, हरिमाया मैनाली, विप्लप नेतृत्वको नेकपा झापा इन्चार्ज सी सुमनसिह, जिल्ला सेक्रेटरी सी सञ्जय लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, समाजवादी मोर्चा झापाले विज्ञप्ति प्रकाशित गरेको छ । सो विज्ञप्तिमा सहिदहरूको बलिदान, जनताको आकांक्षा र समाजवाद प्राप्त गर्ने लक्ष्यमा विभिन्न गोलचक्कर, विभाजन, स्वार्थ केन्द्रहरूको योजना र विभिन्न आवरणका दलालीको प्रभावमा परेको उल्लेख गरिएको छ ।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे आउँदैन है साम्यवाद भन्ने गीतसहित सहिदहरूसँगै अभियानमा हिँडेकाहरु अहिले कम्युनिस्ट आन्दोलनका नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्न उद्यत् रहेको सो विज्ञप्तिमा जनाएका छन् ।
विज्ञप्तिमा कम्युनिस्ट आन्दोलनका नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्ने पश्चगामी कदमहरू, नयाँ अनुहारको नाममा नयाँ खोजिरहेको समाजलाई पुरानै मान्यता दिएर भ्रमित गर्ने प्रवृत्ति र जनताले अस्वीकृत गरिसकेको साथै इतिहास बनिसकेको राजतन्त्रलाई फर्काउन खोज्ने प्रवृत्ति नेपाली समाजलाई उल्टो बाटो हिंडाउने तथा देशलाई दुर्घटनामा लैजाने प्रवृत्ति भएको ठहर उनीहरुले गरेका छन्।
‘यी प्रवृत्तिहरूलाई राम्रोसँग पहिचान गर्नु, जनतालाई बुझाउनु र समाजलाई सुल्टो बाटो हिंडाउनुनै अहिलेको मुख्य कार्यभार हो र सुल्टो बाटो भनेको समाजवाद नै हो,’ विज्ञप्तिमा भनिएको छ।
सुखानीमा उभिएर सहिदहरूलाई सम्झिँदै आफूहरू नेपाली समाजको अग्रगमनको यात्रालाई समाजवादसम्म पुर्याउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए। जनताका महान आन्दोलन र बलिदानहरूलाई दुत्कार्ने, सहिदहरुको शालिक ढाल्ने, जस्ता कुरा गर्ने समाजमा अफवाह फैलाउने, जनविरोधी तत्त्वहरूलाई जनताको निरन्तर अगाडि बढ्ने चाहनाको विरुद्ध आउने जस्तोसुकै षड्यन्त्र र भ्रमहरू ध्वस्त बनाइने चेतावनी उनीहरूको छ।
विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) झापा इन्चार्ज रञ्जित तामाङ, नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा झापाका इन्चार्ज सी सुमन सिंहले हस्ताक्षर गरेका छन्।
