दमक, ३ चैत–दुई दिन मात्रै समय बाँकी रहदाँ दमक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट स्ववियु सभापतिको उम्मेद्वारी टुंगो लगाएको छ ।
लामो समय दमक बहुमुखी क्याम्पसमा नेविसंघले आफ्नो नेतृत्व कायम गरिरहँदा यसपटकको स्ववियु निर्वाचनमा तीनवटा अलग अलग गुटसहितको उम्मेद्वारी मनोनयन दर्ता परेपछि आधिकारिक को भन्ने जिज्ञासा र अन्यौलता बढ्दै गएको थियो ।
नेविसंघको तर्फबाट स्ववियु निवर्तमान सचिव दिपक लिम्बु, सदस्य सायन साङपाङ राई र उपसभापति भुपेन्द्र बस्नेत (भुवन) को नामसहितको उम्मेद्वारी मनोनयन दर्ता भएको थियो ।
आज (आइतबार) बिहानैदेखिको लगातारको प्रयासपछि तीनै जना उम्मेद्वारीहरुबीच सिनियर, योग्य, क्षमतावान र लोकप्रिय विद्यार्थी नेता भुपेन्द्र बस्नेत (भुवन) लाई छनौट गरिएको छ । भुवन बस्नेतको नेतृत्वमा यसअघि नै दमक बहुमुखी क्याम्पसका क्रियाशिल पाँच विद्यार्थी संगठनहरुबीच चुनावी गठबन्धन गरि उम्मेद्वारीहरुको चयन समेत भइसकेको छ ।
दमक बहुमुखी क्याम्पसमा स्ववियु सभापति समेत भइसकेको नेपाली कांग्रेसका नेता अइन्द्र केरुङसहित नेविसंघ झापाका पूर्व सभापति तथा कांग्रेस दमक नगरका नेताहरु पशुराम रिजाल र रोशन बिष्ट लगायतले भुपेन्द्र बस्नेत (भुवन) को नेतृत्वको संयुक्त गठबन्धनलाई आधिकारिक मान्ने पक्षमा देखिएका थिए ।
भुपेन्द्र बस्नेत (भुवन) सभापति रहेको प्यानलबाट सचिवमा राप्रविसंघ सम्बद्ध राजेश थापा र अखिल (क्रान्तिकारी) बाट कोषाध्यक्ष पदमा प्रविन योगी, अनेरास्ववियूबाट प्रत्यक्षतर्फ सदस्य पदका उम्मेद्वार यलिजा भेटुवालसहितको उम्मेदवारहरुको तस्बिर अंकित प्रचारप्रसारमा जुटिसकेको थिए ।

