राजेन्द्र लिङ्देन

काठमाडौँ, ६ चैत्र–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा पार्टीले गर्ने आन्दोलनको नेतृत्व आफैले गर्ने भएका छन्।

धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनको नेतृत्व अध्यक्ष लिङ्देन प्रमुख रहेको आन्दोलन परिचालन मूल समितिले नै लिने निर्णय गरेको हो।

अहिलेसम्म महामन्त्री धवल शम्शेर राणा प्रमुख रहेको आन्दोलन परिचालन समितिले पार्टीका आन्दोलनका कार्यक्रम तय गर्ने गरेको थियो।

तर वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणाले पार्टी र अध्यक्ष लिङ्देनसँग छलफलबिनै नवराज सुवेदी नेतृत्वमा सोमबार ुसंयुक्त जनआन्दोलन समितिु गठन गर्दै अध्यक्ष लिङ्देनलाई सदस्य राखेका थिए। अध्यक्ष लिङ्देनले त्यो समितिमा आफू नबस्ने बताउनुभएको थियो। सुवेदी नेतृत्वको समितिमा वरिष्ठ उपाध्यक्ष मिश्र सदस्य सचिव हुनुहुन्छ।

‘अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन परिचालन मूल समिति छ, त्यो समिति यसअघिसम्म सेरेमोनियलजस्तो थियो, पार्टीमा महामन्त्री धवल शम्शेर नेतृत्वको आन्दोलन परिचालन समितिले सबै गतिविधि गरिरहेको थियो। तर गत सोमबार सुवेदी नेतृत्वको समितिको निर्देशक समितिअन्तर्गत गठन हुने आन्दोलन परिचालन समितिमा धवल शम्शेर बसेपछि राप्रपाले गर्ने आन्दोलनको कमाण्डचाहिँ अध्यक्ष लिङ्देनले नै लिनुपरेको हो,’ एक पदाधिकारीले भने।

अध्यक्ष लिङ्देनले अबदेखि आन्दोलनका कार्यक्रम र गतिविधि आफ्नै नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै गर्ने बताउनुभएको छ। त्यसका लागि चैत १२ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो।

अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने आन्दोलन परिचालन मूल समितिमा पार्टीका सबै पदाधिकारी सदस्य रहन्छन्।

‘केन्द्रीय कार्यसम्पादनको मंगलबारको बैठकले आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री धवल शम्शेर राणाको भूमिकालाई संकुचित गरिदिएको हो,’ राप्रपाका ती पदाधिकारीले भने, ‘पार्टीका निर्णयबेगर र अध्यक्षलाई नै जानकारी नदिई सुवेदी नेतृत्वको समिति गठनमा भूमिका खेल्ने र बस्ने गरेपछि महामन्त्री राणाको भूमिका संकुचित तुल्याउनुपरेको हो। अब सबै आन्दोलनको कमाण्ड अध्यक्ष आफैले गर्ने हो।’

कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यहरूले पार्टीमा छलफलबिना नै सुवेदी नेतृत्वमा समिति गठन गर्न पुगेको भन्दै वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणाको आलोचना गरेको ती पदाधिकारीले दाबी गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *