काठमाडौँ, १० चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी ओली झ्यालबाट टाउको निकालेर हेर्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ।

शनिबार, रुपन्देही जिल्ला कमिटीको दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भुसालले उक्त कुरा बताउनु भएको हो। साथै उहाँले कुनै बेला केपी ओलीले रिसायर हेरे भने पार्टी सदस्य खारेज हुने अवस्था रहेको स्मरण गराउनु भयो।

अर्कोे प्रसँगमा नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्यूँझिएर आउन सम्भव नरहेको टिप्पणी गर्नुभएको छ। यद्यपि, राजनीतिले सही दिशा लिन नसक्दा पुनर्त्थानवादी शक्तिहरू सल्बलाएको स्वीकार गर्नुभयो।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उहाँको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै भुसालले अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताउनुभयो।

कुशासन र बेरोजगारी समस्याका कारण पुनर्उत्थान र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने भुसालको भनाइ छ।

महासचिव भुसालले राजनीतिक रूपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको खतरा निम्तिने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रहसमेत गर्नुभयो।

‘कुनै जमाना यस्तो थियो, ओलीजी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थे’, महासचिव भुसालले भन्नुभयो, ने, ‘तर, आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो। यो सामान्य कुरा होइन।’

भुसालले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड त्याग्नुपर्ने टिप्पणी गर्नुभयो। ‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन’, महासचिव भुसालले भन्नुभयो, ‘रोजगारीको र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने एजेन्डामा आउनुस् ।’

उहाँले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पूँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी राष्ट्रिय एजेन्डा बनाउन सर्वदलीय सम्मेलनको प्रस्ताव गरेको समेत बताउनुभयो।

‘यिनीहरूले अहिले सुन्दैनन्। दम्भ, घमण्डले सुन्दैनन्’, मुख्य तीन दलका नेताहरूप्रति संकेत गर्दै भुसालले भन्नुभयो, ‘जब अराजनीतिक मान्छेहरूले लखेट्न थाल्छन् बल्ल बुझ्छन्।’

राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गरेको भुसालको टिप्पणी छ। उहाँले अहिले पनि वर्तमान अवस्थालाई दुई तिहाइको सरकारले नबुझ्ने हो भने राजावादी वा पुनर्उत्थानवादीहरू थप सक्रिय हुने बताउनुभयो।

‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो। हामी त्यसैका लागि आन्दोलनको मैदानमा होमिएका छौं’, उहाँले भन्नुभयो, ‘एकीकृत समाजवादी अब सत्तामा गएर दुईवटा मन्त्री लिएर बस्दैन। जनतामा जान्छ, एक्लै आन्दोलनको शुरूआत गर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *