काठमाडौं, २ वैशाख–आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। सुवेदीले समाधानका उपायहरु आफूहरुले लेखेर दिएको भन्दै सरकारले त्यसतर्फ कुनै चासो नदिएको आरोप लगाए।

उनले भने, ‘हामीले सरकारलाई समाधानका उपाए लेखेर दिएका छौं, हामी प्रधानमन्त्री बाहेक अरुसँग वार्ता गर्दैनौं।’ उनले प्रधानमन्त्री ओलीले शिक्षकको मागमा चासो नदेखाएको समेत बताए।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। साढे २ महिनादेखि आन्दोलनका विभिन्न चरण पार गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि लगातार माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले यसपटकको आन्दोलन निर्णायक भएकाले कुनै पनि हालतमा ऐन लिएर मात्र फर्कने बताउँदै आएका छन्। शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र एसइईको उत्तर पुस्तिका परीक्षण प्रभावित भएको छ।

महासंघले माग पूरा नभए वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले वर्षे अधिवेशन सुरु भएको केही दिनमा ऐन पारित गर्ने गरी काम भइरहेको बताए पनि शिक्षकहरुले यसपटक ऐन जारी हुने विश्वसनीय वातावरण खाजेका छन्।

महासंघका अध्यक्ष सुवेदीले आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने बताए। महासंघले जिल्ला जिल्लामा निरीक्षण अनुगमन भइरहेको भन्दै आन्दोलनमा आउन बाँकी रहेका शिक्षकहरुलाई अनिवार्य रुपमा सहभागी हुन पनि उर्दी जारी गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *