दमक, ७ वैशाख–साना तथा मझौला उद्योग–व्यवसायलाई लगानी र नवप्रवर्तन गर्ने उदेश्यले कोशी प्रदेशमा उदय परियोजनाले दमकका उद्योगीव्यवसायीहरुबीच आज छलफल गरिएको छ ।
स्विस सरकार विकास सहयोग, नेपाल सरकार अर्थ मन्त्रालय तथा कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा डाई ग्लोबल, यूकेद्वारा उदय परियोजना सञ्चालनमा आएको हो । परियोजना सम्बन्धि कोशी प्रदेशका विभिन्न जिल्लाहरुका उद्योगी–व्यवसायीहरुबीच संस्थागत उदेश्यहरु र परियोजनाबाट व्यवसायीहरुले लिनुपर्ने लाभका बारेमा छलफल र अन्तरक्रिया भइरहेको छ ।
दमकस्थित नेपालीरिका होटलमा आइतबार दमक उद्योग बाणिज्य संघ दमकको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कर्जा लगानीमा जमानत प्रदान गर्न प्रादेशिक कर्जा सुरक्षण कोष र उदय चुनौति कोषका बारेमा छलफल भएको छ । उद्यमी व्यवसायीहरुको व्यवसायिक उन्नयन, नवप्रवर्तन र कार्यकुशलता अभिवृद्धिका लागि पूँजी वृद्धिमा पहुँच बढाउन उदय परियोजनाले कर्जा लगानीमा हुनसक्ने जोखिमको न्यूनिकरण गर्न कोशी प्रदेशमा सो कोष सञ्चालन हुने भएको हो ।
परियोजनाका उत्सव घिमिरेले साना तथा मझैला उद्योग–व्यवसायकपो व्यावसायिक विकास र सेवा प्रवर्द्धन, गर्न बैंक तथा बिक्तिय कारोबार गर्ने संघसंस्थाहरुले सेवाग्राहीहरुमाथि गर्ने प्रकृयागत झझन्ट र ढिलाईले समस्या आइरहेको तर्क गरे । वहाँले व्यवसायीको क्षमता विकास, संजाल विस्तार, समन्वय तथा साना तथा मझौला उद्योगहरूको दिगो विकास र व्यावसायिक वातावरण निर्माणमा टेवा पुर्याउने बारेमा बोल्नुभएको थियो । घिमिरेले परियोजना मार्फत उद्योग व्यवसायको पुँजी पहुँच, लगानी तथा नवप्रवर्तन प्रवर्द्धनलाई सहज बनाउन परियोजना स्थापना भएको बताउनुभयो । परियोजनाले नेपालमा नौ वर्षसम्म काम गर्ने कानूनी कागजात छ । सन् २०२३ डिसेम्बरदेखि २०२७ नोभेम्वरसम्म कोशी प्रदेशमा परियोजना सञ्चालन हुने घिमिरेले बताउनुभयो ।
परियोजनाका मोहन गौतमले साना तथा मझौला उद्यमीहरुलाई पूँजी वृद्धिमा पहुँच बढाउन र बैंकहरुलाई लगानी गर्न कर्जाको आंशिक जमानत सुविधा मार्फत प्रोत्साहन गर्न भूमिका खेल्ने बताउनुभयो ।
गौतमले यसको प्रभावकारी, असल र सफल अभ्यासहरुको आधारमा भविष्यमा अन्य प्रदेश र राष्ट्रिय स्तरमा यो कार्यक्रमलाई विकास र विस्तार गर्दै जाने उद्देश्य परियोजनाले लिएको बताउनुभयो ।
यो परियोजनाको पहिलो चरण साना तथा मझौला उद्यम व्यवसायको पूँजी वृद्धि, नव प्रवर्तन र उन्नयनका लागि व्यवसायिक विकास परामर्श सेवा, पूँजी र सार्वजनिक पहल र जानकारीहरुमा पहुँच वृद्धि मार्फत आर्थिक उन्नती गर्ने वृहत्तर उद्धेश्यमा केन्द्रित रहेको गौतमले बताउनुभयो ।
सो क्रममा दमक उद्योग बाणिज्य संघका लेखा सुपरिेक्षण समितिका संयोजक नेत्र चौलागाई, सल्लाहकार संयोजक राजकुमार श्रेष्ठ, व्यवसायी पदम राउत, बुद्धिसागर बराल, चन्द्रा खड्का लगायतले जिज्ञासाहरु राख्नुभएको थियो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष देबीप्रसाद (गोपाल) गुरागाईको अध्यक्षतामा र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । दमक उद्योग बाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीका अनुसार कार्यक्रममा सिदार्थ बैंक दमक शाखाका प्रवन्धक मुक्तिनाथ भारती, प्रभु बैंक दमक शाखाका प्रवन्धक रोशन संग्रौलाको उपस्थिती थियो ।
कार्यक्रममा नव वर्ष २०८२ सालको प्रकाशनमा ल्याएको क्यालेण्डरको समेत बिमोचन गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु खढ्काले सञ्चालन गर्नुभएको थियो ।
