काठमाडौं, ९ वैशाख–यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ।

मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा परीक्षा केही दिन सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेकी छन्। शिक्षकहरूका माग सम्बोधनका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी मन्त्री भट्टराईले अर्थ मन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीको साथ नपाउने देखेपछि राजीनामा दिएकी थिइन्।

कक्षा १२ कै परीक्षाका सन्दर्भमा छलफल गर्न मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो। शिक्षकहरू विद्यालय नफर्किने अवस्था बनेका खण्डमा निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने पक्षमा बोर्ड थियो।

तर अध्यक्ष शर्मा र शिक्षा सचिव काफ्लेले प्रधानमन्त्री ओलीलाई भेटेपछि परीक्षा सार्न निर्देशन दिएका हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *