नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौँ, ९ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्।

नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले प्रचण्डलाई प्रश्न गरेका हुन्।

उनले प्रचण्ड र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईका लागि जीवन समर्पण गरेको भए पनि आफूहरुलाई दुवै जनाले पार्टीमा कुनै अवसर नदिएको आरोपसमेत लगाएका छन्।

आफ्ना परिवारका सदस्यहरु गुमाउँदै आन्दोलनमा लड्दै साथ दिएको भए पनि आफूहरुले अवसर नपाएको गुनासो पनि उनले गरे।

‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो। हामीले उहाँको आदेश मानेकै हो। आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौँ‚’ उनले भने, ‘उहाँहरुले हामीलाई हेर्नु हुँदैन र ? एकचोटि गर हामी साथ दिन्छौँ भन्नु हुँदैन र उहाँहरुले ? सधैँ आफैँ हुनुपर्छ र ? त्यो के अर्को राजतन्त्र भएन र ? दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने ? कति वर्ष महासचिव हुने ?’

नेकपालाई नेपाली जनताको माया र श्रम गर्ने नेता कार्यकर्ताबाट चल्ने पार्टी बनाउनुपर्नेमा चन्दले जोड दिए। उनले सबै कम्युनिष्ट एकजुट भएर जनतालाई साथ दिन आह्वान गर्ने वेला आएको समेत बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *