काठमाडौं, १३ वैशाख–सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच वार्ता जारी छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ८स् ०५ बजेदेखि छलफल सुरु भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता सुरु भएको मन्त्रालयले जनाएको छ। वार्तामा सरकारको तर्फबाट मन्त्री पन्त र मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले छन् भने आन्दोलनरत नेपाल

शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, महासचिव मदनराज जोशी, महासचिव तुलाबहादुर थापालगायत २५ जना सहभागी छन् । मन्त्रालयले हिजो आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।

आजको वार्ता निर्णायक हुने शिक्षक प्रतिनिधिहरुले जनाएका छन् । शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो । तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए ।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन् । शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।

परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *