भद्रपुर, २६ वैशाख–पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज अपरान्ह झापा आउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशनलाई उद्घाटन गर्न पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता खनाल झापा आइपुग्नुभएको हो ।
विर्तामोडस्थित पुरानो भद्रपुरमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा भोली (शनिबार) हुने उद्घाटन समारोहको प्रमुख अतिथिका लागि खनाल झापा आइपुग्नुभएको पोलिटव्यूरो सदस्य अशेष घिमिरेले जानकारी दिनुभयो । एकीकृत समाजवादी झापाको १०औं जिल्ला अधिवेशन वैशाख २७ (शनिबार) र २८ गते (आइतबार) बिर्तामोडमा हुँदैछ ।
अधिवेशनको उद्घाटन समारोहमा सम्मामनित नेता तथा पूर्व प्रधानमन्त्री खनालसंगै उपाध्यक्ष जगनाथ खतिवडा, उपमहासचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, सचिव तथा कोशी प्रदेशका निवर्तमान अध्यक्ष बलदेब चौधरी, प्रदेश कमिटी अध्यक्ष सरिता खड्का लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुृहुने कार्यक्रम रहेको झापा अध्यक्ष बेदराज रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला कमिटी झापाका सचिव बिपी भट्टराईका अनुसार १०औं अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशन पुरानो भद्रपुरस्थित इन्द्रेणी ब्याङ्केटमा हुने र मञ्च सजिसजावट, कार्यक्रम हलमा कुर्सी, स्वयसेवक परिचालन, सवारी पार्किङ, पिउने पानी, सौचालय लगायत महत्वपूर्ण कार्यहरु पुरा भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।
