दमक, १ जेठ–झापाको दमक ५ का सञ्जय राई भनिने भुपेन्द्र राईसहित तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
बुधबार साँझ साढे पाँच बजे उनीसहित लागुऔषध लिएर आउने धन्दामा संलग्न दुईजना भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले गौरीगञ्ज ३ बाट पक्राउ गरेको हो ।
महेन्द्र चौकबाट गौरीगञ्जतर्फ आउँदै गरेको बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत किसनगंज जिल्ला खनियाबाद ७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमको साथबाट बरामद भएको मोबाइलमा भारतीय नम्वर ं९१९०३१७३३५९६ को ह्वाट्सएपबाट संजय नाम सेभ गरेको ९८००८१०३०० ह्वाट्सएप नम्बरमा लागूऔषध ब्राउनसुगर जस्तो देखिने भिडियो पठाएको भेटिएको थियो ।
भिडियोमा देखिएको लागूऔषध खनियावाद ५ फत्तेपुरका ५८ बर्षिय भोला ठाकुरसँग रहेको खुलेपछि ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाउने क्रममा ठाकुरको कम्मरमुनि अगाडि जाङमा कालो र सेतो प्लाष्टिकमा पोको बनाएर लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित १०२।८१० ग्राम ब्राउनसुगर, नाइट्राजेपाम १०० वटा ट्याव्लेट र कोडिन फोस्फेट एण्ड ट्रिप्रोलिडाइन हाइड्रोक्लोराइड सिरप २ बोतल बरामद भएको थियो ।
खोजतलास गर्ने क्रममा साँझ ६ः१५ बजे दमकका राईलाई गौरीगञ्ज –३ तेलगानीमा ना १ च ९१६२ नम्बरको कार रोकेर कारभित्र बसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
४१ बर्षिय राईको साथबाट कार खानतालासी गर्ने क्रममा नगद २ लाख ४३ हजार ५०० नेपाली रुपैयाँ, आईफोन मोवाइल २ थान, र लागुऔषध नापतौल गर्ने डिजिटल तराजु फेला परेको थियो ।
बरामद सामानसहित तीनैजनाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
