पोखरा, १० जेठ–प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा पहिले सुमन पुरीलाई रोजेका थिए।

संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष बनेका पुरी नवौं महाधिवेशनमा महासचिव भए। त्यति बेला उनलाई दसौं महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वासन नेतृत्वले दिएको थियो।

दसौं महाधिवेशन शुक्रबारदेखि पोखरामा जारी छ। महाधिवेशन अघिसम्म ओलीले पुरीलाई नै अध्यक्ष बनाउने आश्वासन दिइरहेका थिए। तर उनको आश्वासन बन्दसत्र सुरू हुँदासम्म टिकेन। उनी संघका वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै दोहोर्‍याउने निर्णयमा पुगे।

‘ओलीबाट पहिले आशीर्वाद पाएर फेरि गुमाउनुको पीडा सुमन पुरीलाई छ,’ युवा संघका एक नेताले भने, ‘त्यही भएर चुनावमा जाने मनस्थिति बनेको छ।’

ताप्लेजुङका थेबे संगठनको आठौं महाधिवेशनबाट महासचिव र नवौंबाट अध्यक्ष चुनिएका थिए। रूपन्देहीका पुरी भने उपाध्यक्षबाट महासचिव बनेको भन्दै अध्यक्ष उठ्ने दाबी गरिरहेका छन्।

‘मलाई अहिलेसम्म कसैले ब्याक हुन भनेको छैन। नेतृत्वले दसौंमा अध्यक्ष बनाउने आश्वासन दिएरै नवौं महाधिवेशनमा महासचिव बस्न राजी भएको हुँ’ अध्यक्षका आकांक्षी सुमन पुरीले भने, ‘म अध्यक्षको दाबेदार हुँ। युवा संघमा प्रतिस्पर्धा हुन्छ।’

युवा संघमा थेबे र पुरी पक्षले अडान नछाड्ने संकेत देखिएपछि चुनाव गर्ने तयारी भइरहेको युवा संघका इन्चार्ज राजीव पहारीले बताए।

उनका अनुसार मतदाता नामावली प्रकाशन गरिएको छ। आइतबार उम्मेदवारको मनोनयन दर्ता र चुनाव हुन सक्छ।

‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न लागेका छौं,ु उनले भने, ुसहमति नभए लोकतान्त्रिक विधि अपनाउँछौं। भोलिसम्म युवा संघले नयाँ नेतृत्व पाउँछ।’

प्रधानमन्त्री ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ समेत थेबेका पक्षमा उभिएपछि मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत लगायतले पनि समर्थन दिएका छन्।

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, बचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।

पुरी पक्षले पार्टी नेतृत्वबाट उनका मामा–भाञ्जालाई नै धोका दिइएको बताएका छन्।

पुरी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीका भाञ्जा हुन्। एमाले लुम्बिनीको संसदीय दलका नेता गिरीलाई छाडेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न पार्टी नेतृत्वले निर्देशन दिएपछि गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। गिरी एमालेभित्र उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल पक्षमा छन् भने आचार्य महासचिव शंकर पोखरेल निकट छन्।

युवा संघको महाधिवेशन स्थल पोखरा सभागृहको बाहिर थेबे पक्षले नाराबाजी गरेका थिए भने पुरी पक्षले बन्दसत्र हलभित्र नाराबाजी गरेका थिए। दुवै पक्षका प्रतिनिधिले निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउन माग राखेका थिए।

पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व छनौट गर्ने नाममा माथिबाट पदाधिकारीसहित कार्यसमिति घोषणा गर्ने सम्भावना रहेको संघका अर्का नेता बताउँछन्।

‘यसअघि अरू जनवर्गीय संगठनमा पनि प्रतिस्पर्धा हुन पाएन। प्रतिनिधिको चाहनाविपरीत माथिबाट पदाधिकारीसहित कार्यसमिति घोषणा भयो,’ ती नेताले भने, ‘प्रधानमन्त्रीज्यू नै संस्थापक भएको संगठनमा पनि त्यस्तो नहोला भन्न सकिन्न।’

युवा संघका इन्चार्ज पहारीका अनुसार पोखरामा जारी दसौं महाधिवेशनमा सहभागी हुन देशभरबाट १ हजार ८३६ जना प्रतिनिधि पोखरा आएका छन्। सबै स्थानीय तह, जिल्ला र प्रदेशबाट छानिएका प्रतिनिधि र केन्द्रीय समिति प्रतिनिधि छन्।

नेतृत्व छनौट सर्वसम्मत नभए प्रतिनिधिहरूमार्फत मनोनयन दर्ता गरी निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व छनौट गर्ने इन्चार्ज पहारीले बताएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *