काठमाण्डौं (एजेन्सी), ११ जेठ–आर्सनलले १८ वर्षपछि पहिलो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। फाइनलमा आर्सनलले युरोपियन जायन्ट बार्सीलोनालाई १-० गोलले स्तब्ध पारेको हो।
लिस्वनमा गएराति भएको खेलमा आर्सनल अन्डर डग टिमका रूपमा मैदान उत्रिएको थियो। पछिल्लो समय युरोपियन फुटबलमा राज गरिरहेको बार्सीलोनाको सुरूवाती एघारमा बलुन दो विजेता आइटाना बोनमी एलेक्सिया पुटेयस समावेश थिए।
साविक विजेता बार्सीलोनाले २०औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेको थियो। तर, इरेना पारेदेसले गरेको गोल अफसाइड भएपछि स्पेनिस क्लबले राहतको श्वास फेर्यो।
२७औं मिनेटमा फ्रिदा मानमको प्रहार बार्सीलोना गोलकिपर क्याटा कोइलले बचाइन्। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। ४९औं मिनेटमा बार्सीलोनाले गोलको सुनौलो अवसर पायो।
क्लाउडिया पिनाको प्रहार क्रस बारमा लागेर फर्कियो। आइटानाले गरेको प्रहार आर्सनल गोलपिकरले सफल हुन दिइनन्। ६०औं मिनेटमा आइटानाको अर्को प्रयास खेर जादा बार्सीलोना निराश बनेको थियो।
७२औं मिनेटमा आर्सनलले पनि पाएको मौकाको सदुपयोग गर्न सकेन्। अन्ततस् ७४औं मिनेटमा आर्सनलले डेडलक तोड्यो। उसका लागि सब्सिच्युट स्टिना ब्ल्याक स्टेनियसले गोल गरेकी हुन्।
स्टिनालाई सब्सिच्युट खेलाडीकै रूपमा मैदान प्रवेश गरेकी बेथ मिडले उत्कृष्ट पास दिएकी थिइन्। यहि गोल आर्सनललाइ सन २००७ पछि च्याम्पियन्स लिग जित्न निर्णायक बन्यो। आर्सनल छनौट खेलबाट आएको हो।
उपाधि जित्दासम्म उसले कुल १५ खेल खेल्यो। आर्सनलको यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो। बार्सीलोना भने पछिल्लो चार सिजनमा तीन पटक विजेता बनेको थियो।
